फागुन ११ |
पर्वत–लोडसेडिङ्ग अन्त्यको मागसहित संघर्ष समितिले मंगलबार प्रदर्शन गरेको छ । विद्युत उत्पादनको जिल्ला पर्वतमा दैनिक ९ घण्टा लोडसेडिङ्ग हुन थालेपछि उपभोक्ताहरुले संघर्ष समिति बनाएर लोडसेडिङ्ग विरुद्धको आन्दोलनमा होमिएका हुन् ।
भारतीय अघोषित नाकाबन्दी पश्चात पर्वतमा पनि समय समयमा विद्युत जान थालेकोमा माघ १५ गतेबाट विद्युत उत्पादनले दैनिक ९ घण्टे लोडसेडिङ्ग तालिका जारी गरेको थियो । लोडसेडिङ्ग अन्त्य गर्न नसेकतापनि दैनिक ४ घण्टामात्र लोडसेडिङ्ग गर्न जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ र विद्युत प्राधिकरणबिच त्रिपक्षीय भद्र सहमति पनि भएको थियो ।
तीन पटक सम्म सहमति कार्यान्वय गर्ने प्रयास असफल भएपछि उपभोक्ताहरुले संघर्ष समिति बनाएर सोमबारदेखि आन्दोलन सुरु गरेका हुन् । आक्रोशित उपभोक्ताहरुले मंगलबार विद्युत प्राधिकरणले सहमतिलाई तोडेको भन्दै विद्युत प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा आन्दोलनकारीले ढुङ्गा हानेपछि सुरक्षा निकायले लाठीचार्ज गर्दा स्थिती तनावग्रस्त बन्न पुगेको थियो ।
महिलामाथि हातपात
मंगलबार संघर्ष समितिले आयोजना गरेको लोडसेडिङ्ग विरुद्धको प्रदर्शनका क्रममा सुरक्षा निकायले एक महिलामाथि हातपात समेत गरेको छ । प्रदर्शनका क्रममा सुरक्षा निकायको सीमा भित्र जान खोज्दा प्रहरी ईन्सपेक्टर दिपक पातलीले आन्दोलनकारी महिला सविना श्रेष्ठलाई बुट प्रहार गरेका हुन् । महिला कुश्मा नगरपालिका ९ निवासी हुन् ।
महिलामाथि हातपात भएपछि स्थिती झनै तनावग्रस्त बनेको थियो ।
बुधबारदेखि यातायात बाहेक सबै बन्दको आह्वान
समितिले बुधबारदेखि यातायात बाहेकका सबै क्षेत्र बन्दको आह्वान गरेको छ । पटक–पटकको सहमतिलाई सम्बोधन गर्नको लागि सम्बन्धी निकाय नै उदासिन रहेको भन्दै जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालय ठप्प पार्ने संघर्ष समितिले जनाएको छ ।
सहमति कार्यान्वयन नभए र जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न सरोकारवाला निकायले ध्यान नदिए थप कार्यक्रम सार्वजनिक गरी आन्दोलनलाई कडा बनाउने संघर्ष समितिले जनाएको छ
पर्वतमा भएका जलविद्य्ुत आयोजनाबाट कुल ४९ मेघावाट विद्युत उत्पादन हुन्छ तर हिउँदको समयमा भने पानी कम हुने हुँदा उत्पादन हुने गरेको छ । जिल्लामा ए मोदीखोला जलविद्युत आयोजना १४ मेघावाट, कास्की नयाँपुलमा रहेका मोदीबाट ४ मेघावाट, ९.९ तल्लो मोदी खोला जलविद्युत आयोजना र १ मेघावाट पातिखोलामा रहेको छन् भने अन्य निर्माणाधीन अबस्थामा छन् ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...