लोडसेडिङको अवधि घटाउने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अहिले अघोषित रुपमा भइरहेको डेढ, दुई घण्टा लोडसेडिङ हटाएको प्राधिकरणले अब नयाँ तालिका निकाल्ने तयारी गरेको हो ।
अबको एक सातापछि लोडसेडिङ केही घट्ने प्राधिकरणका प्रबन्ध निर्देशक मुकेश काफ्लेले बताउनुभयो । उहाँका अनुसार नदीमा जलस्तरको अवस्थाका बारेमा अहिले अनुगमन भइरहेको छ । जलस्तर बढेका नदीबाट उत्पादन बढाउने र जलस्तर घटेका ठाउँमा उत्पादन कम गरी पानीको सतह बढाउने काम भइरहेको उहाँले बताउनुभयो । भारतबाट आयात गरिएको थप ८० मेगावाट बिजुली अहिले हेटौंडादेखि पूर्वी क्षेत्रमा मात्रै वितरण भइरहेको छ ।
त्यसलाई अरु क्षेत्रमा र्पुयाउने तयारी भएकाले लोडसेडिङ केही घण्टा घट्ने सम्भावना रहेको प्रबन्ध निर्देशक काफ्लेले बताउनुभयो । उहाँका अनुसार अहिले प्राविधिक समस्याका कारण भारतको मुजफ्पुर–ढल्केबरबाट ल्याइएको ८० मेगावाट बिजुली सबै ठाउँमा र्पुयाउन सकिएको छैन । प्राविधिक समस्याबारे भारतीय पक्षसँग पनि छलफल भइरहेकाले छिटै समाधान हुने उहाँको भनाई छ । प्राधिकरणले अहिले दैनिक हुँदै आएको १३ घण्टाको लोडसेडिङ केही घटाउन लागेको हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...