काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसमा पदाधिकारी थप गर्ने संस्थापन समूहको प्रस्ताव अस्वीकृत भएको छ । संस्थापन समूहले पदाधिकारी थप गरेर मुलुकमा भएको परिवर्तनअनुसार संघीय संरचनालाई महत्व दिन खोजेको थियो ।
तर वरिष्ठ नेता शेरबहादुर देउवा समूहले पदाधिकारी थप्न नहुनेभन्दै जोडदार रुपमा धारणा राखेपछि पदाधिकारी थप गर्ने विषयले ठोस सहमति पाउन नसकेको हो ।
पदाधिकारी थप गर्ने निर्णय गर्न नसकेको कांग्रेसले प्रदेशहरुलाई दुई दुई केन्द्रीय सदस्य दिने निर्णय गरेको छ । अञ्चललाई दिइदै आएको एक केन्द्रीय सदस्यमा थप गरेर एउटा प्रदेशमा दुई केन्द्रीय सदस्य दिने निर्णय भएको केन्द्रीय सदस्य महेन्द्र शर्माले जानकारी दिनुभयो । ‘पहिला अञ्चलको संरचना थियो । त्यसलाई खारेज गरेर प्रदेशको संरचनामा जाने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘एउटा प्रदेशलाई दुई केन्द्रीय सदस्य दिइने निर्णय भएको छ ।’
कांग्रेस बैठकले कार्यबाहक सभापति रामचन्द्र पौडेलको संशोधनसहित आएको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । यो नीति तथा कार्यक्रमलाई १३औँ महाधिवेशनको हलमा पेस गरिनेछ ।
संभवत कांग्रेसको आजको केन्द्रीय कार्यसमिति बैठक अन्तिम भएको केन्द्रीय सदस्य शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको केन्द्रीय कार्यसमितिको बैठक अन्तिम हो । सायद अब अर्को बैठक बस्ने छैन । १३औँ महाधिवेशनबाट आउने नयाँ कार्यसमिति कै बैठक अब बस्नेछ ।’ दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...