फागुन १६
काठमाडौं–भनिन्छ– खाने मुखलाई जुँगाले छेक्दैन । जाँगर र आँट मात्र हुने हो भने अपांगले पनि सपांगले जस्तै मनग्गे कमाउन सक्छन् । यो यथार्थलाई पुष्टि गरेका छन्, –चितवन सौराहा, बाघमाराका ७७ वर्षीय टेक बहादुर रानाले ।
टेक बहादुर दृष्टिविहिन हुन् । तर उनले हाते सिपको प्रयोग गरेर आफूले बनाएको सामान बेचेर मनग्गे पैसा कमाएका हुन् । हाते सिपको प्रयोग गरेर आफूले मासिक ३५ हजारको हाराहारीमा आम्दानी गर्दै आएको उनी बताउँछन् ।
यसकारण आँखाको मोती गुम्यो
४० वर्षअघि उनी राम्रोसँग आँखा देख्थे । पछि विस्तारै उनको आँखामा समस्या आयो –आँखा चिलाउने र धमिलो देख्ने । आँखाले धमिलो देख्न थालेपछि उनी उपचारको लागि अस्पताल पनि पुगे । आँखाको अप्रेशन समेत गराए तर, निको हुन सकेन । बरु विस्तारै आँखाको समस्याले रोगले ठूलो रुप लिँदै गयो । अन्तिममा सधैंका लागि उनले आफ्नो आँखाको मोती नै गुमाए ।
३० वर्षसम्म एकैठाउँमा बसेर काम
उनले विगत ३० वर्षदेखि एकै ठाउँमा नै बसेर काम गर्दै आएका छन् । राना नेपालको पर्यटकीय गन्तव्य स्थल सौराहाको हात्ती सफारी गर्ने चोकमा बस्दै आएका छन् । बिहान खाना खाएर आएपछि एकैचोटी साँझ घर पुग्छन् उनी । त्यो बीचमा चोकमा बसेर बुन्न थाल्छन् चकटी, थारु टोपी, लोटा लगायतका नेपाली घरेलु सामानहरु ।
सपांगलाई टक्कर
सपांगहरुनै बेरोजगारीको समस्याले भौतारिरहेको बेला उनी भने उनीहरुलाई नै टक्कर दिँदै आफ्नो सिपको प्रयोगबाट आकर्षक आम्दानी गर्छन् । आफूमा भएको सिपलाई प्रयोग गरेर अहिले मासिक ३५ हजार सम्म कमाउने गरेको उनी बताउँछन् । ‘आँखा देख्न नसक्ने भएपनि आँफूसँग भएको सिप त कतै गएको छैन नि ! किन हरेस् खानु, दैवले जे गराउँछ त्यो भोग्नै पर्नेरै’छ’, आशावादी हुँदै उनले भने ।
विश्वासको आधारमा पैसा लिन्छन्
आफ्नो हातले बुनेका चकटी, टोपीलगायतका सामानहरु बढि विदेशी पर्यटकले लैजाने उनी बताउँछन् । आफूले बनाएको सामान रु दुईसय रुपैयाँदेखि रु १५ सयसम्ममा बेच्दै आएको उनले बताए । पैसा कसरी चिन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘आफुले बनाएको सामान के हो भन्ने त समाएरै चिन्छु तर, पैसा अलि गाह्रो पर्छ, त्यसैले विश्वासको आधारमै किन्नेहरुले पैसा दिनुहुन्छ ।’ अंग्रेजी नआउने भएकाले विदेशीसँग कुरा गर्न स्थानीय ‘टुरिष्ट गाइड’ले सहयोग गरिदिने उनले बताए ।
अपाङ्गहरुलाई सुझाव
विभिन्न कारणले अपाङ्ग भएकाहरुलाई आफुसँग भएको कुनै न कुनै सिपलाई प्रयोग गर्न आग्रह गर्दै उनले अपाङ्ग भइयो भनेर हरेस नखान सुझाव दिए । बरु सिप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा उनको जोड छ ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...