-->
सरकार छाड्ने एमाओवादीको चेतावनी, पेरिसडाँडामा यसरी पोखियो आक्रोश

काठमाडौँ, १३ चैत । भूकम्पपछिको पुनःनिर्माणमा सरकारले ध्यान दिन नसकेको भन्दै एकीकृत नेकपा (माओवादी)ले आपत्ति जनाएको छ ।
भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत भूकम्पपीडित जनताले आवास बनाउन नपाएको, सरकारले प्रदान गर्ने भनेको राहत रकमसमेत वितरण हुन नसकेको र काम गर्ने शैली असाध्यै सुस्त भएको भन्दै सो पार्टीले असन्तुष्टि जनाएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले भूकम्पपीडितले राहत नपाउने अवस्था कायम रहेमा सरकारबाट बाहिरिने चेतावनीसमेत दिनुभयो । उहाँले भन्नुभयो– “जनता खुला आकाशमुनि बस्नुपर्ने अवस्था छ, घर तथा आवास बनाउने काममा सरकारको सहयोग नहुने हो भने सरकारबाट बाहिरिनुपर्ने हुन्छ ।”
कर्णालीका पाँचवटै जिल्ला, सेती महाकालीका पहाडी जिल्ला भोकमरीमा परेको भए पनि सरकारले खाद्यान्न पु¥याउनेतर्फ कुनै पहल गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश चुलिएको प्रवक्ता शर्माको कथन थियो ।
बङ्गलादेशले उपलब्ध गराएको ७० हजार मेट्रिक टन खाद्यान्न पूर्वाञ्चलमा सड्ने अवस्थामा पुगेको तर भोकमरी पीडितलाई वितरण गर्नेतर्फ पहल नभएको र सरकारी संयन्त्र परिचालित नभएकामा गुनासो गर्नुभयो ।
प्रवक्ता शर्माले भन्नुभयो– “सबै संयन्त्र परिचालन गरेर भोकमरी पीडितलाई खाद्यान्न पुर्याउनुपर्छ । जनता भोकभोकै मर्ने अवस्था आउनुहुन्न । जनताले सरकार भएको अनुभव गर्न पाउनुपर्छ ।”
फरक एक प्रसङ्गमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको र जनताको पक्षमा महत्वपूर्ण सम्झौता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो –“समग्रमा प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको छ । लामो समयदेखि चर्चामा रहेका महत्वपूर्ण द्विपक्षीय सम्झौता भएका छन् । त्यसले नेपालको दीर्घकालीन फाइदा गर्नेछ ।”
मुलुकका विद्यमान राजनीतिक समस्या समाधान गर्न सबै दल मिल्नुको विकल्प नभएको र साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा प्रवक्ता शर्माले जोड दिनुभयो । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.