काठमाडौं, ४ चैत । निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री वितरण गर्न दिने निर्णयबाट सरकार पछि हटेको छ ।
नाकाबन्दीको मारमा परेका जनता, विद्यार्थी तथा सर्वसाधारणको चौतर्फी विरोधपछि सरकारले आफ्नो पूर्व निर्णयलाई फिर्ता लिएको हो ।
विहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आपूर्तिमन्त्री गणेशमान पुनले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने निर्णय फिर्ता लिन गरेको प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
यससँगै विराट पेट्रोलियम लगायतका ३५ कम्पनीसँग भएको सम्झौता खारेज भएको छ ।
भारतको अघोषित नाकाबन्दीका समयमा सरकारले निजी क्षेत्रलाई इन्धन आयात तथा विक्री गर्न दिने निर्णय गरेको थियो । तर, विराट पेट्रोलियमलाई महंगो मूल्यमा इन्धन विक्री गर्न दिएपछि विवाद सुरु भएको थियो ।
अब नेपाल आयल निगम बाहेक अन्य कुनै निकायले इन्धन आयात गर्न पाउने छैनन् । यसअघि आजै व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले विराट पेट्रोलियमलाई इन्धन बिक्री बन्द गर्न निर्देशन दिएको थियो ।
नेपाल आयल निगमले प्रतिलिटर रु ९९ मा पेट्रोल बिक्री गर्दै आए पनि ‘युरो ४’ मापदण्डको पेट्रोल भन्दै विराटले रु १३३ मा बिक्री गरेको थियो । गत कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विराट लगायत तीन दर्जनभन्दा भन्दा बढी निजी व्यापारिक संस्थालाई इन्धन आयात र बिक्री गर्न इजाजत दिएको थियो ।
चीनको आसन्न भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाइने
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको आसन्न भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय गरेको छ ।
भ्रमण फलदायी बनाउन थप गृहकार्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । प्रधानमन्त्री ओलीले यही चैत ७–१४ गते चीन भ्रमण गर्दैछन् ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्क मार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप दिएको करिब ४९ करोड पचास लाख अनुदान पनि स्वीकार गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री राईले बताए ।
कर्णाली अञ्चलका पाँचै जिल्ला र सेतीको बाजुरा जिल्लामा देखिएको खाद्यान्न सङ्कट समाधान गर्नका लागि ती स्थानमा अविलम्ब खाद्यान्न पुर्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...