काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापति र महामन्त्री पदमा उम्मेदवारी दिएर संस्थापनका तर्फबाट सभापति पदमा उम्मेदवार बनेका रामचन्द्र पौडेललाई पराजित गर्न प्रमुख भूमिका खेलेका कृष्णप्रसाद सिटौला र गगन थापाले चियापान कार्यक्रम राखेका छन् ।
सिटौला र थापाले भोलि शनिबार बिहान बत्तीसपुतलीस्थित एक पार्टिप्यालेसमा चियापान कार्यक्रम राखेको स्रोतले जनाएको छ । उनीहरूले आफूहरूलाई मतदान गर्ने कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद दिन चियापान कार्यक्रम राखेका हुन् ।
चियापान कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई निम्तो दिइएको छ । तर सिटौला र थापाले सभापति पदमा पराजित रामचन्द्र पौडेललाई चियापानको निम्तो नपठाएको स्रोतको दाबी छ । यो समाचार तयार पार्दासम्म पौडेललाई चियापानको निम्तो पुगेको छैन ।
उनीहरूले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भने बोलाएको बुझिएको छ । देउवा सो चियापन कार्यक्रममा आउन सक्ने स्रोतको दाबी छ ।
निर्वाचनमा देउवालाई समर्थन गरेको सिटौला र थापा समूहले पौडेल समूहलाई हराउन ठूलो भूमिका खेलेको आरोप छ । आरोपको सिटौला र थापाले अस्वीकार गर्दै आएका छन् ।
पौडेल समूहले सभापतिमा हराउन प्रमुख भूमिका खेलेका सिटौला र थापाको चियापान राखेको आरोप लगाएको छ । ‘यो चियापन होइन । रामचन्द्र पौडेललाई हराएकोमा पाटी हो’, पौडेल समूहका एक नेताले आक्रोश पोख्दै भने ।

0 comments
प्रतिक्रिया दिनुहोस्...