-->
ड्रिम्सले कमायो दुई दिनमा १ करोड ७१ लाख


काठमाडौं – अभिनेता अनमोल केसीको फिल्म 'ड्रिम्स'ले दुई दिनमा एक करोड ७१ लाखको कारोबार गरेको छ। शुक्रबार देशभरका झण्डै ८० वटा हलमा रिलिज भएको 'ड्रिम्स'ले शनिबारसम्म एक करोड ७१ लाखको कारोबार गरेको जानकारी निर्देशक भुवन केसीले जानकारी दिए।
'शुक्रबारदेखि रिलिजमा आएको 'ड्रिम्स'ले शनिबारसम्म एक करोड ७१ लाखको कारोबार गरिसकेको छ। राजधानीभित्रका हलबाट फिल्मले धेरै कमाई गरेको हो,'निर्देशक केसीले भने।
दुई दिनमा एक करोड ७१ लाख कारोबार गरेको 'ड्रिम्स'ले शुक्रबार राजधानीबाट ३९ लाख र राजधानीबाहिरबाट २८ लाख उठाएको थियो। त्यस्तै शनिबार राजधानीबाट ६० लाख र राजधानीबाहिरका हलबाट ४५ लाखको कारोबार गरेको थियो।
'ड्रिम्स'को दुई दिन राजधानीका सबै शोहरु हाउसफुल भएको जानकारी हल संञ्चालकहरुले गराएका छन्। 'अभिनेता अनमोलको 'ड्रिम्स' गोपीकृष्णअन्तर्गत चारवटा हलमा रिलिज भएको थियो। सबै शोमा हाउसफुल भएपछि अन्य फिल्मको शो घटाएर 'ड्रिम्स'को शो बढाएका छौं,'गोपीकृष्ण मुभिजका नीरज केसीले भने।
राजधानीभित्रको 'ड्रिम्स'लाई गोविन्द्र शाहीले वितरण गरेका छन् भने राजधानीबाहिर भने मनोज राठीले फिल्म वितरणको जिम्मा लिएका छन्। मुस्ताङमा खिचिएको 'ड्रिम्स' फिल्मलाई अभिनेता भुवन केसीले निर्देशन गरेका हुन्। अभिनेता अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी 'ड्रिम्स' मा हेर्न पाइन्छ।
फिल्मलाई भुवन केसीसहित डा. कपिल रिजाल, भानु फुयाल र सत्यनारायण केयल निर्माण गरेका छन् भने राजा प्रधान र कृष्ण पाण्डे सहनिर्माता रहेका छन् । सामीप्यराज तिमल्सेनाले लेखेको फिल्मको पटकथालाई पुरुषोत्तम प्रधान र सञ्जय लामाले खिचेका हुन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.