२ चैत– रामहरि खतिवडा काँग्रेसका युवा नेता तथा सांसद् रामहरि खतिवडा काँग्रेस केन्द्रीय सदस्यमा पराजित भए ।
खतिवडाले जम्मा १००० मत पाए । खुलातर्फ सबैभन्दा कम मत ल्याएर २५ औं नम्बरमा निर्वाचित भएका मीनेन्द्र रिजालको १४२० मत छ । २५ सिटका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएकामा खतिवडा ३४ औं नम्बरमा परेका छन् । सन्त नेताको उपमा पाएका स्वर्गीय कृष्णप्रसाद भट्टराईबाट राजनीतिक प्रेरणा लिएका खतिवडा काँग्रेसका प्रखर युवा नेता हुन् ।
दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुङगाबाट प्रत्यक्ष निर्वाचित खतिवडा संविधान निर्माण र संसदको विधायकी कार्यमा सक्रिय छन् । जनताका प्रतिनिधिलाई उत्तरदायी बनाउन खतिवडा संसदभित्र ‘वाचडग’ को भूमिका पनि निर्वाह गर्छन् ।
संसदको बैठकमा सांसदहरुको गणपुरक संख्या र सरकारका मन्त्रीहरुको उपस्थितिप्रति चनाखो हुँदै पारदर्शिता स्थापित गर्ने काम गरेका छन् । संसदको सार्वजनिक लेखा समितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भ्रष्टाचार बाहिर ल्याउन उनको मुख्य भूमिका थियो । पटकपटक आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने उनी सांसद र संसदीय समितिका बैठकमा नियमित उपस्थित हुने गरेका थिए ।
यस्तो छ पराजयको कारण
खतिवडा सभापति शेरबहादुर देउवा पक्षधर हुन् । संसदमा उनको प्रभावकारी भूमिका देखेर काँग्रेसका ठूलै नेता पनि आतंकित हुने गरेका थिए । खतिवडा जहिले पनि जनताका मुद्धालाई संसदमा प्रवेश गराउँछन् । उनको कलात्मक प्रस्तुति र तर्कशीलता लोभलाग्दो छ ।
नेपालमा संविधान जारी भएपछि भारतले तीन महिनाभन्दा बढी नाकाबन्दी लगायो । कतिपय सांसद् त्यसबारे अझै पनि बोल्न डराउँछन् । तर खतिवडाले नाकाबन्दीको सधैं प्रतिवाद गरिरहे । नाकाबन्दी संसदमा छलफलको एजेण्डा बन्नुपर्ने माग उनको थियो ।
नाकान्दीको विरोध गरेका कारण पार्टीभित्रकै ‘भारतीय लवी’ र मधेसी नेता र सांसद् उनीसँग चिढिएका थिए । त्यही कारण तराई क्षेत्रबाट उनलाई मत आएन । तराईको मत नआएका कारण उनले हारेको चर्चा काँग्रेस वृत्तमा छ ।
काठमाडौँ टुडे बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...