-->
नेपालको लगातार दोस्रो जित


काठमाडौं–नेपालले प्रथम दक्षिण एसियाली महिला बास्केटबल(साबा) च्याम्पियनसिपमा लगातार दोस्रो जित पाएको छ । नेपाली टोलीले बुधबार माल्दिभ्सलाई ७७–३६ स्कोरले पराजित गर्याे। सुरुआतमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
पहिलो क्वार्टरमा नेपालले २२ अंक जोड्दा माल्दिभ्सले खातासमेत खोल्न सकेन । त्यसबाट उत्साही नेपाली टोलीका प्रशिक्षक विकास शाहीले दोस्रो क्वार्टरमा सुरुआत सेट परिवर्तन गर्दै नयाँ सेट उतारेका थिए । दोस्रो क्वार्टरमा नेपालले १९ स्कोर थप्दा माल्दिल्भले १३ स्कोर जोड्न सफल भयो । तेस्रो क्वार्टरमा २४–६ स्कोर बटुलेको नेपाल चौथो क्वार्टरमा भने पछाडि प¥यो । माल्दिभ्सले १७स्कोर जोड्दा नेपालले १२ स्कोरमात्र बटुल्न सक्यो ।
प्रशिक्षक शाहीले प्राविधिक कमजोरी भएका कारण अन्तिम क्वार्टरमा माल्दिभ्सले धेरै स्कोर जोडेको बताए । 'हामीले आज राम्रो खेल्न सकेनौं । टोलीको प्रदर्शनबाट सन्तुष्ट छैन । टोलीको धेरै कमजोरी आज देखियो,' शाहीले भने, 'सुरुआतमा हाम्रो समन्वय राम्रो थियो । पछि नयाँ सेट उर्तादा समन्वय मिल्न सकेन । सुटिङमा मिल्न सकेको थिएन । हामीले स्तरअनुसार आफ्नो खेल देखाउन सकेनौं ।'
शाहीले माल्दिभ्सविरुद्धको खेल सहज लिएकाले पनि नयाँ रणनीतिमा खेलेको प्रस्ट्याए । उनले थपे, 'हामीले जित्छौं भन्ने थियौं । त्यसैले राम्रो खेलाडीलाई धेरै समय नखेलाएको हो । यसले आगामी खेलमा हामीलाई सजिलो हुन्छ ।'
राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगितामा नेपालले बिहिबार भुटानसँग खेल्दैछ । अन्तिम खेल नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । श्रीलंकाविरुद्धको खेललक्षित गरेर रणनीति परिवर्तन गरिरहेको शाहीले बताए । उनले भने, 'हामीश्रीलंकाविरुद्धको खेलमा बढी केन्द्रित हुनुपर्छ । श्रीलंका हामीभन्दा हरेक पक्षमा अगाडि छ । प्राविधिक र शारीरिक रूपमा उनीहरूउत्कृष्ट छन् ।'
बुधबार नेपालको जितमा स्नेहा श्रेष्ठले सर्वाधिक २४ स्कोर गरिन् । जारी प्रतियोगितामा स्नेहा नेपालबाट धेरै स्कोर गर्ने खेलाडी हुन् । दुई खेलमा उनले ४९ स्कोर गरिसकिन् । पहिलो खेलमा नेपालले बंगलादेशलाई ९२–२६ ले हराउँदा स्नेहाले २५ स्कोर जोडेकी थिइन् ।
माल्दिभ्सका प्रशिक्षक टिएच अमाथले स्नेहा प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएको बताए । उनले भने, 'स्नेहा प्रतिभाशाली खेलाडी हुन् । उनको खेल्ने शैली अरुको भन्दा असाधारण छ ।' माल्दिभ्सविरुद्ध प्रीति तुलाचनले १४ स्कोर गरिन् । उनी राष्ट्रिय टोलीकी उपकप्तान हुन् ।
प्रशिक्षक अमाथले नेपालविरुद्ध आफ्नो टोलीले राम्रो खेलेको बताए । 'हाम्रो युवा टोली छ । अधिकांस युथखेलाडी छन् । अनुभव पनि कम छ । हाम्रो स्तर र अनुभवअनुसार खेलाडीले राम्रो खेले,' उनले थपे, 'नेपाल राम्रो टिम छ । प्राविधिक रूपमा उनीहरू अगाडि छन् । सुरुआतमा स्कोर गर्न नसके पनि खेलमा अन्त्यतिर हामीले बढीभन्दा बढी स्कोर गर्ने प्रयास गरेका थियौं । सुटिङ राम्रो थिएन । तर, प्रदर्शनबाट खुसी छु । आगामी खेल जित्ने कोसिस गर्छौं ।'
माल्दिभ्सबाट हुस्ना मोहम्मदले दोस्रो क्वार्टरमा खाता खोलेकी थिइन् । उनले फ्री सटबाट १ अंक जोडिन् । फतिमा एस अवजाईले ९ स्कोर गरिन् । बुधबारै अर्को खेलमा श्रीलंकाले भुटानलाई ११२–३१ स्कोरले पराजित गर्याे ।
- Nagarik News


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.