काठमाडौं: अग्रज संगीतका अम्बर गुरुङ दुई महिना लामो उपचारपछि बुधबार भारतबाट फर्किएका छन्। राष्ट्रियगानका संगीतकार अम्बर स्वास्थ्यमा सुधार आएपछि फर्किएका हुन्।
उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संगीतकर्मी तथा प्रशंसकको बाक्लो उपस्थिति थियो। विमानस्थलमा अम्बरलाई स्वागतकार्यको संयोजन नेपाली गीतका श्रोताहरूको समूह 'अजर अमर गीतहरू'ले गरेको थियो।
विमानस्थलमा अम्बरले आफ्ना शुभेच्छुकको कामनाप्रति धन्यवाद दिएका थिए। साथमा उनले आफ्नो उपचारखर्च सरकारले बेहोर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिए । आफू केही समय आराम गरेर संगीत साधनामा नै फर्किने उनले बताए।
छोरा राजु गुरुङको साथमा फर्किएका अम्बरलाई पञ्चकन्याको फूलमालाका साथमा उनीद्वारा संगीतबद्ध राष्ट्रिय गान बजाएर स्वागत गरिएको थियो। राष्ट्रिय गान बज्दा प्रशंसकहरूसँगै उनले पनि उठेर राष्ट्रियगानको सम्मान गरेका थिए। प्रसन्न मुद्रामा देखिएका उनले 'यति रोएँ जिन्दगीमा' गीत गुनगुनाएका थिए।
आफ्नो उपचारखर्च सरकारले बेहोर्ने निर्णय गरेकोमा अम्बरले सरकारलाई धन्यवाद दिए। केही समय आराम गरेर संगीत साधनामा फर्किने उनले बताए।
अम्बरको स्वास्थ्यमा सहयोग गर्न घरमै नर्सको व्यवस्था गर्न आग्रह गरिएको 'अजर अमर गीतहरू'का संयोजक तथा संगीत अध्येता प्रकाश सायमीले बताए। उनले भने, 'उहाँ र उहाकी श्रीमती दुवै बिरामी भएकाले स्याहारका लागि नर्सको व्यवस्था गर्न माग गरिएको हो।'
सायमीका अनुसार मेदान्त अस्पतालमा उपचार गराएका अम्बर फलोअपका लागि दुई महिनामा फेरि नयाँदिल्ली जानुपर्छ। 'अम्बर नेपाली सेनाका महारथी पनि हुनुहुन्छ', सायमीले भने, 'उहाँको उपचारका लागि सरकारले गम्भीर भएर सोच्नुपर्छ।'
७८ वर्षीय अम्बर लामो समयदेखि मधुमेह, पाचनप्रणाली, पार्किन्सन्सलगायतका रोगबाट पीडित थिए।
- अन्नपूर्ण पोस्ट्

0 comments
प्रतिक्रिया दिनुहोस्...