तीर्थमान डंगोल काठमाडौंस्थित नेपाली कांग्रेसका त्यस्ता नेता हुन,जो पञ्चायतकालभरि काग्रेसका रुपमा हुनुसम्म परिचालित भए । तर,अहिले भूमिकाविहिन छन । उनी काग्रेसले उठाएका पञ्चायतकालीन उपप्रधानपञ्च थिए,काठमाडौंमै । २०४६ को परिवर्तनपछि काठमाडौं काग्रेसको सभापति र निर्वतमान राष्ट्रपति डा रामवरण यादव स्वास्थमन्त्री हुँदाको सरकारमा राज्यमन्त्रीसम्म भए । तर, राजनीतिक रस्काकस्सीमा उनले आफूलाई माहिर खेलाडिको रुपमा प्रस्तुत गर्न सकेनन् । कांग्रेस आफैंले वास्ता गर्ने त झन कुरै रहेन । हालै काग्रेस महाअधिवेशन सम्पन्न भएको छ । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ केन्द्रीय समितिले काम थालिसकेको छ । तीर्थराम जस्ता पूराना काग्रेस नेताले अहिलेका काग्रेसलाई कसरी हेरेका छन यही सेरोफेरोमा हरि गजुरेल ले उनै डंगोलसँग गरेको कुराकानीको अंश
० महाअधिवेशनको नतिजालाई कसरी हेरिरहनुभएको छ ?
काग्रेसमा मात्र होइन नेपाली जनतामा राजनीति चेतना वढेको देखिन्छ । काठमाडौंमा मात्र होइन जिल्ला जिल्ला र गाँउ गाँउबाट नेपाली काग्रेसका नेता कार्यकर्ता उत्साहित भएर आएको पाइयो । लोकतन्त्र र राष्ट्रियताको लागि अत्यन्त महत्वपूर्ण देनका रुपमा लिएका छु ।
० सफल मान्नुहुन्छ कि असफल ?
महाअधिवेशन सफल/असफल हुनुमा नेतृत्वको नीतिमाथि भर पर्दछ । नीति र नेता एक अर्काेको पर्यायवाजी हुन । नेता नराम्रो भयो भने नीति राम्रो आँउदैन । नेताको वुद्धि,विवेक,लगनशील सिद्धान्त, आर्दश निष्टाले नीति निर्माण गर्ने कुरा हो । महाअधिवेशनको सफलता/असफलता भनेको शुसिल कोइरालाको नेतृत्वमा जुन संविधान जारी भयो त्यसलाई व्यवहारिक रुपमा रुपान्तरण गर्न निकै ठूलो चुनौती छ । हामी एकआपसमा मिल्न सकिने स्थान भनेको संविधान हो । अहिले जुन रुपमा संविधान निर्माण हुँदा कतिपय स्थानमा दिपावली वत्ति बल्यो,कति स्थानमा टायर बालियो । यसरी संविधानको वर्खिलापमा गएकाहरुलाई पुन राष्ट्रिय राजनीतिको ट्रयाकमा फर्काउनु सबैभन्दा ठूलो चुनौती हो । नेवारी भाषामा ‘अएला गुलु’ रक्स्याहा,‘ल्यास्से गुलु’ धेरै श्रीमति बटुल्ने ,‘धेवा गुलु’ अर्थात अवैध सम्पत्ति आर्जन गर्ने । नेपाली राजनीतिमा सबैभन्दा वढि चुनौती धेवा गुलुलाई कसरी हटाउने भन्ने हो । महाभारतयुद्ध किन भयो ? लोभी र लालचीको कारण । त्यसै कारण लोभी नेता,लालची कार्यकर्ता दोनो नरकमा ठेलमठेल भन्छन क्या । सबैभन्दा ठूलो चुनैती नेपाली राजनीतिकर्मीहरुलाई लोभ र लालचबाट पर राख्नुमा हो ।
० सर्वाेच्च अदालतले भष्ट्र ठहर गरेको नेताले सबैभन्दा वढि मत ल्याए नि !
रामायणको रचनाकार वाल्मिकि पनि त पहिला रत्नाकार डाकु थिए नि ! अपराधिक मनोवृत्तिका मान्छेलाई एउटा साधनाले शिक्षा दियो र वाल्मिकि ऋषि बन्न पुगे । हामी यस्तै शिक्षा पढेर हुर्कियौं । खुमवहादुर खड्काजीमा त्यो जिम्मेवारी कार्यकर्ता पक्तिले विश्वाश गरी सुम्पेका छन,ताकी उनी पनि रत्नाकारबाट वाल्मिकि झैं बनेको कार्यकर्ता देख्न चाहन्छन । पहिला नजानेर गल्ती गर्नु अपराध होइन । गल्ती हो भने थाहा पाएर सुधार नहुनु चाहीँ अपराध मात्र होइन महाअपराध ठर्हछ । अव उहाँ सुर्धनु पर्दछ ।
० तर गगन थापाले हार्ने, खुमबहादुरले जित्ने राम्रो कुरा हो त ?
खुमबहादुरलाई सुध्रने अवसर दिइएको हो । गगन थापाले हारेको होइन, उनले जीतेका हुन । मतले हार्नु मात्र हार्नु होइन,गगनले महामन्त्रीमा उम्मेदार दिनु नै एउटा जित हो । हिम्मतले हार्नु पनि जित हो । म कसैलाई पनि पार्टी छोड्नु पर्ने अवस्था बनाउनेछैन भनेर शेरबहादुरजीले भनिसक्नुभएको छ नि । आन्तरिक प्रतिष्पर्धामा कसैको हार र जित हुँदैन ।
० खुमबहादुर शक्तिशाली भएसँगै काग्रेस अव हिन्दुराज्यकै मुद्धा तिर फर्कन्छ भन्ने गरिन्छ । सत्य हो ?
मलाई लाग्छ कि ,धर्मनिरपेक्षता,संघीयता,गणतन्त्र नेपाली जनताले स्वीकार गरिसकेको तथ्य हो । यसमा अव पुनर्विचार हुदैन । जनताको अग/अंगमा घुसिसकेकोछ । अव यस्मा पुर्नविचार हुदैन ।
० शशांकले सार्वजानिक अभिव्यक्ति दिइरहेका छन नि ?
मैले पनि सुनेको थिए । त्यो उहाँको व्यक्तिगत विचार हो । काग्रेस पार्टीको धारणा होइन । निर्वाचित हुनुभन्दा अगाडिको विचार हो । निर्वाचित भइसकेपछि त्यस्लाई उहाँले कि त महासमितिको वैठकमा ल्याउनुप-र्यो,ल्याए पनि महासमितिको वैठकले यस्ता कुरालाई अनुमोदनगर्दछ भन्ने कुरामा म पटक्कै विश्वाश राख्दिन ।
० खुमबहादुरले एमाले पार्टी फुटाएको भन्ने हल्लाको वास्तविकता के हो ?
यस्ता कुरा सुन्नेले होइन,भन्नेले नै जानुन ।
० यो महाअधिवेशनमा केन्द्रीय सदस्य बन्ने मोह तपाइमा किन पलाएन ?
क्रियाशिल सदस्य सम्बन्धमा जुन अवधारणा छ त्यस्मा सुधार हुन सकेको छैन । ०५६ साल वैशाख २० गते प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं ७ बाट निर्वाचित भएको हुँ,कीर्तिपुर नगरपालिकाबाट क्रियाशिल सदस्यता त्यही समयदेखि लिएको । मलाई कतिपय नेताहरुले मन पराएनन । मलाई महाअधिवेशनमा नआउनका लागि अड्चन हालियो । अस्वस्थ प्रतिष्पर्धामा म आउन चाहिन । क्रियाशिल सदस्यतामा त्रुटि छन ।
० इमान्दारीता र त्यागले पनि राजनीति चल्दछ र भन्या ?
वेइमानी,त्याग्न नसक्ने मान्छेले गर्ने राजनीति ‘मुतको न्यानो’मात्र हो । वेइमानीको राज धेरै समय टिक्दैन । हिजो र आजमा केही फरक छ । हिजो राजनीति गर्दा त्याग गर्नेले गर्दथे आज त हाकाहाकी भन्दछन नि ‘जोगी हुनलाई राजनीति गरेको हो र ?’सत्तामा जानु मन्त्री हुनु क्षणिक हो । पद प्रतिष्ठा पाउन कुनै गाह्रो छैन । पाइरहेको पद प्रतिष्ठा टिकाइराख्न बहुत मुस्किल छ । मलाई सभापति मन्त्री केही भन्दैनन,त्यो बेलामा उपप्रधानपञ्च भनेरै चिन्छन ।संविधान आइसक्यो र पनि हामी देशको तरलता, अस्थिर,संक्रमणकालको नाम भजाउन छाडेका छैनौ हामीले । यो आजमात्र होइन सात साल देखि आजसम्म हाम्रो अवस्था तरलै,संक्रमणकाल नै ? यो जस्तो दुःखद कुरा अरु के हुनसक्छ ? वेइमानीहरुको समय धेरै छोटे हुन्छ । सूर्यबहादुरले त्यत्रो अपराध गरी पञ्चायतलाई जोगाए,उनले पनि आफ्नो कार्यकाल पूरा गर्न सकेनन । जनताले निर्वाचित गरेको संस्था समेत आफ्नो समयसम्म टिक्न सकेको छैन । राजनीतिक स्थितरता नआएसम्म देशको अवस्था तरल,संक्रमणकालमै रहने भयो ।
० काग्रेसभित्र वेइमानको संख्या कति होला ?
वेइमानहरु धेरै हुन्नन । सत्यवादीहरु नै धेरै हुन्छन । वेइमानहरु अनसिन भएर बस्छन । काग्रेसको पार्टी विभाजन हुदाँ मैले गिरिजावावुलाई भनेको थिए ‘पार्टीमा अझैं केही कसिंगर बाँकी छन ।’ अपराधी मनोवृत्तिका,दुराचारी,दृष्क्रियाकलाप गर्नेलाई जनताले बाँकी राख्ने पक्षमा छैनन् । टेकुमा हाम्रो कार्यलय थियो,त्यहाँबाट सानेपामा सर्दा भनियो गिरिजाबावु तपाईको कार्यलय टेकुबाट सानेपामा सर्दा अख्तियारले डामेका कुडाँ,कर्कटहरुलाई टेकुमै छाडेर जानुहोस । अहिलेको महाअधिवेशनले बाहिर देखिने गरी एक जना कुडा कर्कटलाई लिएर आयो । धेरै कुडा कर्कटलाई महाअधिवेशनले लाखापाखा लगाइदिएका छन । अव पनि सुध्रिएनन भने तिनको हालत पनि हुने उही हो ।
० महाअधिवेशनमा तपाइले समर्थन गरेका भिमसेनदास प्रधानले पराजय भोगे नि ?
भीमसेनजीलाई मैले उठाएको होइन । साच्चै भन्ने हो भने उहाँलाई ‘सभापतिमा हारिसक्नुभयो ।’ भनेको थिए । सभापतिमा पराजय हुनुमा हाम्रो पनि केही जिम्बेवारी त रह्यो । केन्द्रीय कार्यसमितिमा उठ्नका लागि हाम्रो तयार पुगेन भनेका हौं । तर उहाँले मान्नुभएन । पछि उहाँले ‘नेताको घानमा परे’ भन्नुभयो ।
० शेरबहादुर देउवाका अगाडि के के चुनौती छन् ?
पार्टी भित्र एकता कायम गर्नु सबैभन्दा ठूलो चुनौती हो । पार्टीलाई भष्ट्रमुक्त राख्नु,स्वच्छ राख्नु दोश्रो ठूलो चुनौती । सबैभन्दा पहिला आफ्नो घर बलियो हुनुपर्दछ । भनिन्छ नि, घरको परिवार मिल्यो भने उस्ले टोल हाक्न सक्छ । टोल मिले राष्ट हाक्न सक्दछ । नयाँ चीज दिन सक्ने मान्छेको मात्र सबैले लेखाजोखा राख्ने हो । शेरबहादुरजीले इतिहासमा नाम लेख्ने हो भने नेपाली काग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई नेपाली जनताको माझमा लागू गर्नसक्नुपर्छ । उहाँ विपीको पालाको मान्छे हो । उहाँमा जुन आर्दश र हिम्मत थियो, अहिलेको सभापतिमा त्यो हिम्मत आर्दश खस्किएको छ ।
० तपाई राज्यमन्त्री रहँदाका स्वास्थमन्त्री रामवरण यादव राष्टपति बन्नुभयो । तर,तपाई गुमनाम किन ?
परिस्थिती समयले रामवरणजीलाई त्यो शिखरमा पु-र्यायो । म सडकमै छु । कार्यक्रममा साथीहरुले बोलाउछन । पदमा नरहे पनि साथीभाईको माया ममता पाएकै छु । गुमनाम भए हुँला तर वदनाम भएको छैन । मात्र पदमा रहिँन । पदमा नरहदैमा गुमनाम भइस् भन्नुहुन्छ भने के भनौं र ?
० काग्रेसप्रति तपाईको मोहभंग भएको कतिको सत्य हो ?
प्रकाशमानलाई छोडौं ,उहाँ त नेताको छोरा, म जनताको छोरा । जनताको छोरा मैले काग्रेसबाट नपाएको केन्द्रीय सदस्य,मन्त्रीको पद हो । प्रतिवन्धित अवस्थामा उपप्रधानपञ्च खाएकै हुँ । त्यससमयका सभापति कृष्ण प्रसाद भट्टराईले विरामी भए भनेर घरमै बस्नुभए पनि हुन्छ भन्नुभएको थियो । हामीले पौष एक गते जनताको अधिकार लुटिएको दिन उत्सव मनाउन सकिदैन भनेर विरोध गर्दा निलम्वनमा परियो । ३४ सालमा क्रियाशिल सदस्यता लिएको । कृष्ण प्रसाद भट्टराईको समयमा नेपाली काग्रेस काठमाडौं को गठन हुँदा कोषाध्यक्षको जिम्मा दिनुभएको । नेविसंघको अध्यक्ष,जिल्ला कार्यसमितिको कोषाध्यक्ष सचिव सभापति सम्म भए । म मात्र होइन म जस्ता स्वभावका धेरै मान्छेहरुपार्टीमा पछाडि परेको छ । काग्रेसलाई सबैभन्दा वढि चुनौती भष्टबाट मुक्त बनाउनु हो । गोपाल प्रसाद रिमालले कवितामा भनेझैं एक जुगमा एक दिन एक पटक आँउछ त्यो जिम्बेवारी शेर बहादुरजीको काँधमा छ । नेपालीमा एउटा उखान छ सुनलाई सयचोटी जोखे पनि हुन्छ,मान्छेलाई एकपटक जोखे पुग्दछ । ५२/५३ सालको तुलनामा शेरवहादुरजी धेरै परिष्कृत भइसक्नुभएको छ । उहाँले गर्न सक्नुभएन भने कसैले पनि सक्दैन । उहाँको सबैभन्दा ठूलो चुनौती भष्ट्रको न्युनीकरण गर्नु हो ।
० तर विश्वाश गर्ने कसरी ? जम्वो मन्त्रीमण्डल बनाउने,सुत्केरी भत्ता खुवाउने लगायतका कामबाट उहाँ हिजैदेखि आलोचित हुनुहुन्छ …
हिजोको भन्दा फरक देखाउन सक्नुभएन भने अरु नेता झैं उहाँको पनि पत्तासाप हुनेछ । अरुले गरेको जस्तो काम नगर्नुहोस भनेर हामीले चुनेका हौं । शेर बहादुर भनेको ‘बहादुर’हो यिनले गर्नैपर्दछ भनेर हामीले नेता चुनेको नभए त बाटामा भेटेको जस्लाई टिपेर सभापति बनाएको भए पनि भइहाल्थ्यो नि । नगरेर सुखै छैन । उहाँको काँधमा अत्यन्तै जिम्वेवारी छ त्यो जिम्वेवारीबाट नहडबडाउनुहोला । शेरबहादुर भनेको हाम्रो इज्जत हो अर्थात काग्रेसको हस्ताक्षर । घरको मुली असल भए जाहान परिवार सबैले सुख पाँउछन । घरमूली नै खराव भएमा साराले दुख पाँउछन भन्ने कुरा शेरबहादुरजीले बुझ्नु आवश्यक छ । उहाँले थोरै मात्र गलत गर्नुभयो भने हाम्रो पनि शिर झुक्छ । त्यही कारण काग्रेस कार्यकर्ताको शिर झुकाउने केही काम नहोस,हाम्रो शूभकामना । जनकल्याण गर्न नसक्ने नेतालाई जनताले बाँकी राख्दैनन् ।
० जातीय मुद्धामा रुमलिनुभएकै कारण तपाईलाई पछाडि पारेको हो ?
होइन,पार्टीले मलाई नेवार भएकै कारण स्थान दिएको हो । ज्यापु समुदायका कुनै पनि नेताले मैले जति अवसर कसैले पाएका छै्रनन । कम्युनिष्टले समेत दिएको छैन । त्यही कारण त म आफूलाई ‘भुँइको फूल’ ठान्दछु । नेवार,ज्यापु भएपछि कम्युनिष्ट हुनुपर्दछ भन्ने धारणा छ । जनस्थरबाट उठेको ज्यापू समुदायको कस्ले चाही छ मैले जति अवसर पाएको ?
० घरपरिवार कसरी चलेको छ ?
मेरै घरमा विपी, गणेशमान, गिरिजावावु बसेर केही राजनीतिक निर्णय भएको छ । म सँग भएको त्यही घर थियो राज्यलाई दिनसक्ने । त्यही घर बेचेर आएको पैसाले ‘तेज तीर्थ ट्रष्ट’को स्थापना गरियो,पैसा त्यहाँ राखे । त्यहीँबाट हरेक वर्ष राम्रा काम गर्नेहरुलाई छानेर लोकतन्त्र,प्रजातन्त्र र गणतन्त्र दिवसको अवसर पारी पुरस्कार प्रदान गर्दै आएको छु । आफू र श्रीमतीचाहिँ भाईको घरमा शरणार्थी भएर बसेको छौं । त्यही पैसाको व्याजबाट जिन्दगी गुर्जादै आएको छु ।

0 comments
प्रतिक्रिया दिनुहोस्...