काठमाडौं – कांग्रेस नेतृत्वका लागि सभापतिका तीनै प्रत्याशीले शनिबार राति अबेरसम्म चलायमान हुन सक्ने र अनिर्णीत मत आआफ्नो पक्षमा ल्याउन अन्तिम कसरत गरे । कांग्रेसका १३ हजार १ सय ६१ मतदातामध्ये करिब दस प्रतिशत मत अनिर्णीत र चलायमान हुने अनुमान छ । पार्टीमा यसपटक ५० प्रतिशतभन्दा बढी नयाँ अनुहारका प्रतिनिधि छन् । नयाँ प्रतिनिधि बढी आएकैले प्रयाशीहरु ढुक्क हुने अवस्थामा छैनन् ।
कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानल मध्यरातसम्मै मत तान्ने कसरतमा थिए । त्यस क्रममा प्रतिनिधिलाई भविष्यमा अवसर प्रदान गर्ने आश्वासनदेखि लिएर आर्थिक प्रभावमा पार्ने प्रयत्न समेत भएको हुनसक्ने कांग्रेसकै नेताहरुले बताए ।
‘कुनै पनि पक्षमा खुलेर नलागेका मत तान्ने कसरत तीनै सभापतिले आआफ्नो ढंगले गरिरहेका छन्,’ एक नेताले राति अबेर भने, ‘जे हुन्छ आजकै रातमा हुन्छ । आजको रातमा हुने निर्णयले धेरै असर गर्न सक्छ ।’ उनले छिमेकी चाहना अन्तिम अवस्थामा व्यक्त हुन सक्ने भन्दै अन्तिम अवस्थामै आएर जोडघटाउमा फेरबदल हुन सक्ने अनुमान गरे ।
दुइटा प्यानल भएका कारण संस्थापन पक्ष पहिलो चरणमै नतिजा आउने अनुमानमा छ । आफ्नो पक्षको मतलाई देउवा पक्षतिर जान नदिन संस्थापन जोडतोडका साथ लागिरहेको छ । संस्थापन पक्षको मत रोक्न सके पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्ने उसको बुझाइ छ । विधानअनुसार सभापतिमा विजयी हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...