फागुन १९ | राजेश भण्डारी/विजु महर्जन
लिगेसीको नाममा कांग्रेस कुनै परिवारमा कैद हुँदैन
काठमाडौं– ‘हामी हाम्रो लागि होइनौं राष्ट्रका लागि हौं । विपी, गणेशमान र गिरीजाप्रसादले सधैँ राष्ट्रको चाहना सम्बोधन गरे । मेरो दावा छ, यहि पुस्ताले कांग्रेस भएर देशलाई हाँक्न सक्छ ।’ गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको विश्वासपात्र भएर लामो समय काम गरेका कांग्रेस महामन्त्री कृष्ण सिटौलाले यसो भन्दै गर्दा कार्यकर्ताले लामो समय ताली बजाए । राजधानीको बत्तिसपुतलीस्थित अनुपम बैंक्वेट्सको हल सिटौला समर्थक कार्यकर्ताले खचाखच भरिएको थियो ।
सिटौलाको घोषणा सुन्न आतुर कार्यकर्ताको माझ उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदादेखि नयाँ संविधान घोषणा गर्दासम्मको कथा सुनाउँदै भने, ‘मलाई विश्वास छ, कांग्रेस हाँक्नसक्छु, तर त्यो जिम्मेवारी दिने–नदिने तपाईंहरुको हातमा छ ।’
आफ्नो प्यानलको महामन्त्रीका रुपमा गगन थापालाई अघि सारेका सिटौलाले पार्टीमा बढ्दै गएको विकृतीतिर संकेत गर्दै भने, ‘कांग्रेसभित्रको विकृतिको सिकार हुन चाहन्न, मेरो काठमाडौंमा घर छैन ।’
आफ्नो प्यानलबाट महामन्त्रीको घोषणा गरेका युवा नेता गगन थापाले देश हाँक्न सक्ने उद्घोष गर्दै सिटौलाले भने, ‘गगन मेरो छोरोको उमेरको मान्छे हो, मलाई विश्वास छ, उसले देश हाँक्नसक्छ ।’ कांग्रेस भएर थाक्न नपाइने भन्दै सिटौलाले गिरीजाबाबु र सुशील कोइराला जस्तै हरेक कांग्रेस अन्तिम अवस्थासम्म सक्रिय रहनुपर्ने बताए ।
‘आम नेपाली जनताले चिरकाल स्वाधिनता खोजेका छन्’ उनले भने, ‘राजनीमिा लागेर मैले के पाएँ वा पाईन भन्ने कुरा प्रधान हुँदैन, मैले के दिन सकेँ त्यो मुख्य कुरा हो ।’
नम्र स्वभावका नेता कृष्ण सिटौला बुधबार निकै आक्रामक रुपमा प्रस्तुत भए । तर, पनि उनले पार्टीका कसैलाई गाली गलौज गरेनन् । गिरीजाप्रसाद कोइराला र प्रचण्डसँग जोडीएका प्रसंगको व्याख्या गर्न लामो समय खर्चेका सिटौलाले कांग्रेस लिगेसीको नाममा कुनै परिवारमा कैद हुन नसक्ने दावी गरे । ‘संस्थापनको नाममा अर्कालाई होच्याएर कोहि ठुलो हुँदैन’ उनले भने, ‘हामी सबै संस्थापन हौं, कांग्रेसको जिम्मा हामीलाई दिनोस्, यो देशलाई सगरमाथाको शिखरमा पुर्याउन सक्छौं ।’

0 comments
प्रतिक्रिया दिनुहोस्...