विमानमा बम भएको हल्लापछि उडान अवरुद्ध
काठमाडौँ, ४ चैत । भारतको नयाँदिल्लीबाट काठमाडौँ उडान भर्न लागेको नेपाल एयरलाइन्सको आरए–२०६ विमानमा बम भएका हल्ला चलेपछि उडान अवरुद्ध भएको छ ।
अपरिचित व्यक्तिले विमानमा बम रहेको भन्ने जानकारी भारतीय सुरक्षा निकायलाई दिएपछि उक्त विमान अहिले सुरक्षा जाँचका क्रममा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिनुभयो ।
‘बम राखिएको हल्ला चलेपछि अहिले विमानको सुरक्षा जाँच भइरहेको छ, हल्लाअनुरुप त्यस्तो केही फेला परेको छैन, नेपालतर्फको अन्तर्राष्ट्रिय उडान सामान्य छ’ – उहाँले भन्नुभयो ।
उक्त विमान नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १२ः४० मा काठमाडौँ उड्ने तयारीमा थियो । विमानमा बम राखिएकोे हल्ला चलेपछि भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएर जाँच गरेको हो ।
विमानमा मधेसी नेताहरु पनि सवार
नेपाल एयरलाइन्सको फ्लाइट नम्बर २०६ को उक्त जहाजमा मधेसी मोर्चाका नेता उपेन्द्र यादव र महन्थ ठाकुरसहित अन्य नेताहरू पनि परेका छन् । ‘मोर्चा नेता उपेन्द्र यादवसहित अन्य नेताहरू यहाँ हुनुहुन्छ’, जहाजका यात्रुले भने ‘कसैले जहाजमा बम भएको सूचना दिएपछि उड्नै लागेको जहाज रोकिएको हामीले खबर पाएका छौं ।’
उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले सोही जहाजमा यादव रहेको पुष्टी गरे । ‘मंगलबार फर्कने योजना थियो, कार्यक्रम लम्बिएपछि आज आउँदै हुनुहुन्थ्यो ।’
उपेन्द्र यादव, हृदेश त्रिपाठी, महन्थ ठाकुर लगायतका मोर्चा नेताहरू आइतबार विहान दिल्ली गएका थिए । त्रिपाठी मंगलबार नै नेपाल फर्केका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...