-->
होलीमा जबरजस्ती लोला हाने सार्वजनिक मुद्दा

काठमाडौं: प्रहरीले रङको पर्व फागुलाई धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा मर्यादित भएर मनाउन सर्वसाधारणसँग अपिल गरेको छ । फागुमा कुनै आपराधिक घटना वा सडक दुर्घटना नहोस् भन्ने हेतुले प्रहरीले उक्त अपिल गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी फागुको विशेष सडक सुरक्षा सार्वजनिक गरेको छ । प्रहरीले फागु मनाउने क्रममा मादक पदार्थ, लागूपदार्थ सेवन नगर्न, तीव्र गतिमा सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु राखी सवारी नचलाउन, हेल्मेट नलगाई सवारी नहाँक्न अपिल गरेको हो ।
ट्राफिक प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरसँगको समन्वयमा संयुक्त चेक प्वाइन्ट राखी ट्राफिक नियमविपरीतका गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।
‘चाडपर्व मनाउन पाइन्छ । तर यसको पनि विधि र प्रक्रिया छन् । मर्यादित भएर कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने र सडक संस्कृतिविपरीत गएर खेल्न पाइँदैन । यस्तो भएको पाइए कारबाही गर्छौं', महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने ।
फागुपूर्णिमाका दिन ट्राफिक र तीनवटै जिल्लाका प्रहरीको संयुक्त समन्वयमा उपत्यकामा बिहान सात बजेदेखि साँझ सात बजेसम्म करिब डेढ सय स्थानमा चेक प्वाइन्ट राखिने भएको छ ।
‘हाम्रो उद्देश्य चाडपर्व मनाउनेलाई रोक्ने नभएर सर्वसाधारणलाई दुर्घटनाबाट जोगाउने र अपराधमुक्त राख्ने हो । मनाउनेले पनि अर्काको मानमा आघात पुर्याउनु भएन', अर्यालले भने । गत वर्ष फागुका दिन प्रहरीको चेक प्वाइन्ट सकिनेबित्तिकै नौवटा गम्भीर दुर्घटना भएका थिए ।
पत्रकार सम्मेलनमा काठमाडौं प्रहरीका प्रमुख एसएसपी विक्रमसिंह थापाले कानुनविपरीत र बदलाको भावले फागु खेलेर अपराध निम्त्याउनु भन्दा संयम भएर खेल्न आग्रह गरे ।
‘गाडीमा बियरका बोतल राखेर सडकमा खाँदै हिँड्ने, गाँजा तान्दै हिँड्नेलाई तत्कालै पक्राउ गरी सार्वजनिक मुद्दा चलाउँछौं', थापाले भने ।
प्रहरीले जबरजस्ती रङ दल्ने र लोला हानेमा प्रहरीको कन्ट्रोल नम्बर १०० मा जानकारी दिन अनुरोधसमेत गरेको छ । इच्छाविपरीत कार्यगरेमा स्थानीय प्रशासन ऐनले १० हजार जरिबाना र एक वर्ष कैदसम्म सजायको व्यवस्था गरेको छ ।
भक्तपुरकी एसपी किरण बज्राचार्यले विगतमा फागुमा अवाञ्छित गतिविधि गरेर सार्वजनिक मुद्दा चलाएका केही युवा विदेश जाँदा पुलिस रिपोर्टमा समेत उक्त व्यहोरा उल्लेख गरिएकाले जान नपाएको सुनाइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.