-->
ल्याहारक्याल लामा छुटेलगत्तै प्रहरीले हिरासतमा लियो


काठमाडौंः बैंकको लकरमा गोली भेटिएपछि पक्राउ परेका एमाओवादीका सांसद् ल्याहारक्याल लामा प्रशासनको आदेशमा धरौटी तिरेर छुटेलगत्तै फेरि प्रहरी हिरासतमा पुगेका छन् ।
अख्तियारबाट अवैध सम्पत्ति कमाएको अभियोगमा छानबिन गर्ने क्रममा नेपाल इन्भेष्मेन्ट बैंकको दरबारमार्गस्थित शाखामा रहेको लकरबाट १४ थान गोली बरामद भएपछि उनी पक्राउ परेका थिए ।
अवैध गोली राखेको घटनामा हतियार खरखजना मुद्दा चलाइएका उनलाई प्रशासनले सोमबार ६६ हजार ७ सय ५० रुपैयाँ धरौटी लिएर छाडेलगत्तै प्रहरी हिरासतमा पुगेका हुन् ।
अवैध गोली राखेको मुद्दामा छुटेका उनलाई वैदेशिक रोजगारीमा ठगीसम्बन्धी अर्को मुद्दामा प्रशासनले अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुलाई जिम्मा लगाएको हो ।
अख्तियारको टोलीले गत फागुन ३० गते लामालाई बैंकको लकर खोलेर हेर्नका लागि बैंकमा बोलाएको थियो । सुनचाँदी राखिने लकरमा गोली भेटिएपछि सांसद् लामा प्रहरी हिरासतमा पुगेका थिए ।
दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकर अख्तियारको टोलीले लामाकै उपस्थितिमा चेकजाँच गर्दा १४ थान गोली भेटिएको थियो । गोली बरामद भएपछि उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हातहतियार खरखजना मुद्दा चलाइएको थियो ।
एमालेबाट प्रधानमन्त्री बनेका झलनाथ खनालले लामालाई अर्थराज्यमन्त्री बनाएपछि त्यसको तीब्र विवाद भएको थियो । लामाले सिन्धुपाल्चोकबाट फरक फरक मितिमा दुईवटा नागरिकता लिएको प्रमाण भेटिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.