के यी दुई प्याकेजमा पारिश्रमिक लिन्छन् ?
नेपाली चलचित्र क्षेत्रका चर्चित दुई कलाकार दयाहाङ राई र प्रियंका कार्कीको जोडीले अब नयाँ कार्यको थालनी गर्ने भएको छ ।
अनलाइनखबरसँग विशेष कुरा गर्दै नायिका कार्कीले यो कुराको खुलासा गरेकी हुन् । अबको तपाइको सपना के हो भन्ने प्रश्नमा नायिका कार्कीले भनिन्-‘अब म र दयाहाङ मिलेर चलचित्र निर्माण कम्पनी खोल्दैछौ । जसबाट हामी आफूले चाहेको जस्तो चलचित्र बनाउँछौ ।’ नयाँ बर्ष लागेसँगै यो जोडीले प्रोडक्शन कम्पनी खोल्ने र फागुनसम्म चलचित्रलाई छायांकनमा लैजाने योजना राखेको छ ।
चलचित्र क्षेत्रमा लागेर थुप्रै चलचित्र खेलेपनि आफूले चाहेजस्ता विभिन्न भूमिका खेल्न नपाएको भन्दै कार्कीले भनिन्-‘दयाको पनि आफ्नै खालको सपना छ । मेरो पनि चलचित्रमा भूमिका गर्ने आफ्नै खालको सपना छ । तर, हामीले अरुको ब्यानरमा चलचित्र खेल्दा उनीहरुको चाहना अनुसार काम गर्नुपर्ने हुन्छ ।’ आफ्नो प्रोडक्शन कम्पनीबाट बर्षमा एउटा चलचित्र बनाएर दया र आफूले नै अभिनय गर्ने उनले बताइन् ।
बर्षमा एउटा चलचित्र निर्माण गर्ने र आफूले चाहेजस्तो भूमिका खेल्ने योजनामा दया र प्रियंका लागेका छन् । उनीहरुले लगानी मात्र गर्ने निर्माता पाएको खण्डमा सहकार्य गरेपनि चलचित्रको बिषयवस्तुमा हस्तक्षेप गर्ने कोहीसँग पनि सहकार्य नगर्ने योजना बनाएका छन् ।
दया नै किन रोजिन् ?
नायिका कार्कीले दया र आफू एकदमै नजिक भएको सुनाइन् । उनले भनिन्-‘जीवनमा यति राम्रो साथी सायदै भेटिदैन । दया र ममा पोजेटिभ इनर्जी छ । हामी दुबै नै यो क्षेत्रलाई पूजा गर्छौ ।’
आफूले विश्वास गर्न सक्ने नजिकको साथ दया भएकाले पनि उसँग मिलेर प्रोडक्शन कम्पनी खोल्न लागेको नायिका कार्कीको भनाई छ । दयाले आफूलाई विश्वास गर्ने र आफूले पनि दयालाई विश्वास गर्ने भएकाले एकसाथ नयाँ कदम चाल्न लागेको कार्कीले बताइन् ।
दयाको श्रीमती र छोरासँग पनि आफू नजिक भएको र दया पनि आफ्नो परिवारसँग नजिक भएको नायिकाको भनाई छ ।
प्याकेजमा काम गर्ने कुरा सत्य हो ?
चलचित्र बजारमा नायिका प्रियंका कार्की र नायक दयाहाङ राइले आफूहरु २ जनालाई लिएको खण्डमा प्याकेजमा पारिश्रमिक लिने गरेको चर्चा पनि छ । अनलाइनखबरको यो जिज्ञासालाई नायिकाले अस्विकार गरिन् । उनले आफूहरुले प्याकेजमा काम नगरेको भन्दै यस्तो चर्चा आफूले पनि सुनेको बताइन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...