-->
गिरिजाप्रसादसँग भएका सहमति म कार्यान्वयन गर्छु : सभापति देउवा

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिगतमा भएका आन्दोलन र त्यस क्रममा गरिएका सहमति, सम्झौतालाई आफूले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नै निवासमा आज बिहान चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेको नेतृत्वमा पुगेको टोलीसँगको भेटवार्ताका क्रममा सभापति देउवाले आफू बिगतमा भएका सहमतिबाट कदापि पछाडि नहट्ने बताउनुभएको हो ।
‘गिरिजाप्रसाद कोइरालाले गर्नुभएका सहमति र सम्झौता कार्यान्वयन गर्ने दायित्व मेरो पनि हो’, सभापति देउवाको भनाइ उदृत गर्दै चुरेभावर पार्टीका प्रवक्ता प्रकाश निरौलाले जानकारी दिनुभयो । देउवाले नयाँ संविधान कार्यान्वयनमा चुनौति रहेको भन्दै त्यसलाई कार्यान्वयनका लागि सहयोग गर्न चुरेभावर पार्टीसँग पनि आग्रह गर्नुभएको थियो ।
सभापति देउवासँग चुरेभावर पार्टीले चुरेभावर क्षेत्रलाई समेटर संघीय प्रदेश बनाइनुपर्ने बिगतको सहमति कार्यान्वयनमा आग्रह गरेको थियो ।
जवाफमा सभापति देउवाले अगाडि भन्नुभयो, ‘म अहिले कांग्रेसको सभापति मात्रै छु । सरकारको प्रमुख होइन । मेरो पार्टीका तर्फबाट गर्ने सहयोग गर्छु ।’ चुरेभावर पार्टीले तराईमा गर्दै आएको आन्दोलनका विषयमा पनि देउवाले चासो राख्नुभएको प्रवक्ता निरौलाले जानकारी दिनुभयो ।
तराईका जिल्लाहरूमा आन्दोलन गर्दै आएको चुरेभावर पार्टीले आफ्नो आन्दोलनका पक्षमा दलहरूको समर्थन जुटाउन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्दै आएको छ । भेटमा आफूहरूसँग विगतमा भएका विभिन्न सहमति कार्यान्वयनका लागि दबाब पनि दिँदै आएको छ ।
यसअघि, चुरेभावर पार्टीको केन्द्रीय नेतृत्वले उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि भेट गरेको थियो । सो क्रममा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै चिन्ता जनाएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.