२२ फागुन, काठमाडौ ।
नेपाली कांग्रेसको विदेशमा रहेका अधिकांश नेपाली जनसम्पर्क समितिले पार्टीको आगामि नेतृत्वको लागि बरिष्ठ नेता शेरबहादुर देउवा सभापति र कार्यवहाक सभापति रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नु पर्नेमा जोड दिएका छन् ।
फाइल तस्बिर
अमेरिका, बेलायत, कतार दक्षिण कोरिया, नेदरल्याण्ड, जापान, जर्मनी, बेल्जियम र यूरोपका महाधिवेशन प्रतिनिधिहरुले गतिशिल नेतृत्व र परिवर्तनको लागि आफूहरु बरिष्ठ नेता देउवाको पक्षमा उभिएको घोषणा गरेका हुन ।
पत्रकार सम्मेलन गर्दै जनसम्पर्क समिति जर्मनीका दिल गुरुङले जनसम्पर्क समितिबाट १२६ महाधिवेशन प्रतिनिधि रहेकोमा ८० प्रतिसत भन्दा बढीको समर्थन देउव पक्षमा रहेको दावी गरे । उनले भने,‘ रामचन्द्र पौडेल प्रधानमन्त्री र देउवा सभापति बन्नु पर्छ ।’
बेलायतका लोक गुरुङले जनसम्पर्क समितिले पठाएको नाममा सस्थापन पक्षले हस्तक्षेप गरेर तलमाथि पारेकोप्रति आपत्ति प्रकट गर्दै सस्थापन पक्षले पराजित हने भयले यस्तो गरेको आरोप लगाए ।
उनले भने,‘ १२ औ महाधिवेशनमा सुशील कोइरालालाई भोट हालेर जिताएका हौ । तर पार्टीको भातृ सस्थाको निर्वाचन भएन, पार्टी गतिशिल पनि भएन । अब सुशीलले बनाएको संविधान कार्यान्वयन गर्न देउवालाई भोट हाल्नु पर्छ ।’
अमेरिकाका आनन्द विष्टले शेरबहादुर देउवालाई जिताउँदा ६०–४० को भागबण्डा अन्त्य हुने र अभिभावक समेत प्राप्त हुने भन्दै आफूहरु देउवाको पक्षमा रहेको स्पष्ट पारे । कतारका विमल सुवेदीले देशको नेतृत्व गर्न सक्षम नेतृत्वको आवश्यकता रहेकोले शेरबहादुर देउवालाई विजयी बनाउनु पर्ने भन्दै सबै भातृ संगठनको निर्वाचन गराउन र जनसम्पर्क समितिलाई पनि रुपान्तरित गर्न पार्टी सभापतिमा देउवाको आवश्यकता रहेको तर्क गरे ।
दक्षिण कोरियाका गिरीराज कुँवरले आफूहरु प्रारम्भमा कुनै पक्षमा नरहे पनि नेपाल आएपछि पार्टीलाई क्रियाशिल बनाउन शेरबहादुर देउवाको आवश्यकता महसुस गरेर अरु जनसम्पर्क समितिको आग्रहमा आफूहरु पनि समर्थक बनेको बताए ।
नेदरल्याण्डका नारायण आचार्यले गुटको अन्त्य र मुलुकको पुर्ननिर्माणकोलागि शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने बताए ।
जापानका नारायण सुवेदीले संविधान कार्यान्वयन गर्न, पार्टीभित्रको भागबण्डा अन्त्य गर्न र मधेस समस्या समाधान गर्न र अरु पार्टीसँग बलियो डिलिङ गर्न पनि शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको तर्क गरे ।
बेल्जियमबाट आएका जनसम्पर्क समिति यूरोपका महासचिव गंगाधर गौतमले बदलिदो परिस्थितिमा मुलुक र पार्टी नेतृत्व गर्न शेरबहादुर देउवा मात्रै सक्षम रहेको भन्दै आफूहरु ८० प्रतिसत भन्दा बढी त्यसको पक्षमा रहेको बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...