आन्दोलनरत मधेसवादी दलका नेतासँग गोप्य भेट गर्ने
काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुने क्रममा नेपाल भ्रमणमा आउन लागेका बिहारका मुख्यमन्त्री नीतिशकुमारले मधेशी मोर्चाका शीर्ष नेतासँग गोप्य भेटघाट गर्ने भएका छन् ।
बुधवार दिउँसो काठमाडौं आउन लागेका नीतिशकुमारले त्यही साँझ पहिलो पटक र अर्को दिन बिहान दोस्रो पटक मधेसी नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको जानकारी दैनिक नेपाललाई प्राप्त भएको छ ।
स्रोतले बताए अनुसार बुधवार साँझ बिहारका मुख्यमन्त्री नीतिशकुमारको सम्मानमा भारतीय राजदूतावासले आयोजना गर्न लागेको रात्रिभोज भन्दा पहिले मधेशी मोर्चाका शीर्ष नेताहरूसंग भेट गर्नेछन् । यस भेटमा मधेशी मोर्चाका शीर्ष नेतासंगै कांग्रेस, एमाले र एमाओवादीका मधेशी नेताहरू पनि उपस्थित रहनेछन् ।
यसैगरि दोस्रो भेट बिहीवार बिहान हुनेछ । यो भेट भने नीतिशकुमार बस्ने द्वारिकाज होटलमा हुनेछ । बिहीवार बिहानको यो ब्रेकफास्ट मिटिंगमा मधेश आन्दोलन, संविधान संशोधन र आन्दोलनको भावी रणनीतिबारे कुराकानी हुने स्रोतले जनाएको छ ।
यसको अलावा बिहारका मुख्यमन्त्री कुमारले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेंट गर्ने कार्यक्रम रहेको छ ।
यद्यपी यसअगाडि नीतिशकुमारले पाँच महिनासम्म भएको मधेस आन्दोलनबारे कुनै धारणा दिएका छैनन् । बरु उनले नाकाबन्दी लगाउने नरेन्द्र मोदी नेतृत्वको भारत सरकारको विरोध गरेका थिए ।
नीतिशकुमार नेपालसँग सीमा जोडिएको विहार राज्यका मुख्यमन्त्री हुन् । उनी भर्खरै सम्पन्न विभानसभा चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्रको मोदीको पार्टीलाई भारी मतान्तरले हराएका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...