संसदीय दलको निर्वाचन गर्न समिति गठन
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कमिटीले संसदीय दलको निर्वाचन गर्न समिति गठन गरेको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा १३ औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको बैठकले संसदीय दलको निर्वाचनका लागि रमेश रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
बैठक सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । संसदीय दलको निर्वाचनका लागि गठन गरिएको समितिको सदस्यमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
समितिले निर्वाचनको मिति र कार्यतालिका बनाउनेछ । स्रोतका अनुसार समितिले चैत २२ गते निर्वाचन गर्नेगरी आजैदेखि तयारी थालेको छ ।
संसदीय दलमा नवनिर्वाचित सभापति देउवाले उम्मेदवारी दिने संकेत देखाइसकेका छन् । यो पदमा बस्न उनलाई नेतृत्वबाटै समेत दबाब आएको खबर बाहिर आएको थियो । तर, सभापतिमा हारेका रामचन्द्र पौडेलले पनि प्रतिस्पर्धा गर्ने सम्भावना छ ।
पौडेलले संसदीय दलको नेतामा उम्मेवारी दिएपनि अहिलेको अवस्थामा बहुमत पुग्ने छैन् । सभापतिमा हारेपनि आफूलाई देउवाले सर्वसम्मत ससंदीय दलको नेता बनाउने विश्वास पौडेलले लिएको स्रोत बताउँछ । तर, आजको निर्वाचन समिति घोषणा र देउवाले आफै संसदीय दलको नेता बन्ने संकेत देखाएपछि रामचन्द्र पौडेललाई धक्का लागेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...