-->
दक्षिण एसियाली बास्केटबल आजदेखि : नेपाल र बंगलादेश भिड्दै


चैत्र १६, २०७२- दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपको पहिलो संस्करण आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपालले बंगलादेशविरुद्धको खेलसँग मंगबालर च्याम्पियनसिपको यात्रा सुरु गर्दैछ ।
नेपाल र बंगलादेशको खेल अपरान्ह ४:३० बजे सुरु हुनेछ । त्यसअघि नै श्रीलंका र माल्दिभ्स भिड्नेछन् । सबै खेल राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।
च्याम्पियनसिपमा आयोजक नेपाल र श्रीलंकालाई बलियो मानिएको छ । ‘श्रीलंका कठिन प्रतिद्वन्द्वी हो र उसलाई पनि पन्छाएर हामी च्याम्पियन बन्न चाहन्छौं,’ नेपाली टिमका प्रशिक्षक विकास शाहीले भने, ‘अरु टिमलाई पनि कमजोर मान्ने छैन ।’
राउन्ड राबिन लिगको आधारमा शनिबारसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स सहभागी छन् । आन्तरिक विवादका कारण भारत सहभागी नभएको आयोजक नेपाल बास्केटबल संघले जनाएको छ । पाकिस्तान पनि काठमाडौं आएको छैन ।
माघ–फागुनमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा बास्केटबलसमावेश गरेरपनि प्रतियोगिता संभव भएको थिएन । भारतीय बास्केटबल संघको विवादको कारण फिवा एसियाले सागमा प्रतिस्पर्धा गर्न दिएको थिएन । त्यसैले सात देशका टिम गुवाहाटी पुगेरपनि पदकका लागि कोर्टमा उत्र पाएका थिएनन् ।
त्यसपछि नेपाल बास्केटबल संघ दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप आयोजना गर्न अघि सरेको थियो । पुरुषतर्फको क्षेत्रीय प्रतियोगिता नयाँ दिल्लीमा हुने सहमति पनि त्यही बेला भएको थियो । eKantipur बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.