बर्लिन- फुटबलको सबैखाले गतिविधिबाट ६ वर्षे प्रतिबन्धमा रहेका निवर्तमान फिफा अध्यक्ष सेप ब्लाटरले रसियाका राष्ट्रपति भ्लादमिर पुटिनको आतिथि भएर २०१८ विश्वकप फाइनल हेर्न जाने बताएका छन्। ब्लाटरले पुटिनको निमन्त्रणा स्विकार्दै २०१८विश्वकपको फाइलनमा जाने निर्णय गरेको उनका प्रवक्तालाई उद्धृत गर्दै स्विट्जरल्यान्डको एक साप्ताहिक पत्रिकाले बिहीबार लेखेको छ।
'मलाई निमन्त्रणा गरिएको थियो र त्यसलाई स्विकार्नु मेरो कर्तव्य हो,' ब्लाटरले भने।
युइएफएका अध्यक्ष मिचेल प्लाटिनीलाई अनधिकृत रूपमा २० लाख डलर दिएको आरोपमा ८० वर्षे ब्लाटरलाई ६ वर्षसम्म फुटबलको गतिविधिमा प्रतिबन्ध लगाएको थियो। प्लाटिनी र ब्लाटर दुवैलाई फिफा इथिक्स कमिटीले ८ वर्ष प्रतिबन्ध लगाएको थियो। त्यसलाई पछि ६ वर्षका घटाइएको हो।
तर्क ब्लाटरले आगामी महिना कोर्ट अफ आर्बिटे्रसन (कास)मा सुनुवाई भएपछि आफ्नो प्रतिबन्ध फुकुवा हुने विश्वास व्यक्त गरे। त्यसैले ब्लाटरले २०१८ जुन १४ बाट सुरु हुने विश्वकपमा रसिया जाने बताएका छन्।
'म भविष्यवक्ता होइन र मलाई थाहा छैन विश्वले २०१८ लाई कसरी लिनेछ,' ब्लाटरले थपे। गत अक्टाबरमा पहिलो प्रतिबन्ध बेहोरेका ब्लाटर त्यसयता कुनै पनि रंगशालामा प्रवेश गरेका छैनन्। उनलाई जुरिचस्थित फिफा मुख्यालयको कार्यालय प्रवेशमा पनि रोक लागेको थियो।

0 comments
प्रतिक्रिया दिनुहोस्...