पर्सा / जनताको जीउधनको सुरक्षा गर्ने जिम्मा पाएको प्रहरीले नै व्यापारीलाई अपहरण गरी फिरौती असुलेको घटना प्रकाशमा आएको छ । वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी रु चार लाख फिरौती लिएको अभियोगमा पर्सा प्रहरीले एक जना प्रहरी जवानसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
हतियारको बलमा अपहरण गरी रकम फिरौती लिएको भन्दै कानुले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको निवेदनका आधारमा वीरगन्ज–१८ निवासी प्रहरी जवान अविन्द सिंह, दीपकसहित र वीरगन्ज–१४ निवासी भगवान् सिंहलाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो । गत फागुन ५ गते वीरगन्जको नयाँबसपार्कबाट प्रहरी जवान सिंहसहितका तीनैजनाले रु चार लाख फिरौती लिएको जाहेरी दिएपछि शनिबार राति नै तीनैजनालाई पक्राउ गरिएको पर्सा प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । अपहरणमा संलग्न प्रहरी जवानलाई नियन्त्रणमा लिएपछि उनीसहितका अन्य अपराधमा संलग्न व्यक्तिबारे पनि जानकारी पाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरी जवान र पक्राउ परेका अभियुक्तसँगै मिली अन्य ठूला व्यक्तिसमेत अपराध गर्दै आएको अनुसन्धानबाट देखिएको उपरीक्षक श्रेष्ठले दाबी गर्नुभयो ।
अपहरणको अभियोगमा पक्राउ परेका तीनैजनाबाट रु चार लाख ७२ हजार नगद, विभिन्न नौ वटा बैंकको चेकबुक, विभिन्न बैंकको भौचर पाँच थान, विभिन्न व्यक्तिको नाममा गराइएका रु २२ लाख ४० हजारका तीन थान तमसुक, रु सात लाखको दृष्टिबन्धक कागज दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ । सङ्गठनको नियम विपरीत कार्य गरेको पाइएपछि पर्सा जिल्लामा कार्यरत रहेका २८ जना सुरक्षाकर्मीलाई पाँच महिनामा कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्लाको विभिन्न स्थानमा रही सङ्गठनको मर्यादा विपरीत कार्य गर्ने चार जना प्रहरी सहायक निरीक्षकसहित २८ जना सुरक्षाकर्मीलाई कारबाही गरिएको जिप्रकाले जनाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...