-->
गर्भपतनभन्दा अस्थायी साधन प्रयोगमा ध्यान दिन आग्रह

डोटी, ७ चैत । गर्भपतन गराउनुभन्दा परिवार नियोजन विधी अपनाउनुर्पेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
सकभर गर्नपतन नै गर्नु नपरोस् भन्ने लक्ष्यका साथ आफूहरू परिवार नियोजनका लागि बढावा दिन सक्रिय रहेको डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशीले बताइन् ।
त्यस्तै गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधनको प्रयोग दर बढाउनुपर्ने नेपाल परिवार नियोजन संघ डोटी शाखा प्रवन्धक चेतराज फुलाराले बताए ।
गर्भपतन गराउनु महिलाको स्वास्थ्य, सामाजिक, आर्थिक विभिन्न कारणले उपयुक्त नहुने भएकाले पनि अनिच्छित गर्भपतन गराउनुभन्दा पनि परिवार नियोजनका स्थायी र अस्थायी विधीको प्रयोग दर बढाउनु पर्ने सम्बन्धित सरोकारवालाहरु बताउँछन् ।
हुन त नेपाल सरकारले ‘अनिश्चित गर्भपतन रोक्न परिवार नियोजन, आवश्यक परेमा सुरक्षित गर्भपतन’ भन्ने सरकारी नारा नै तय गरेको पनि छ ।
नेपालमा महिलाको मञ्जुरिनामा सहित सूचिकृत स्वास्थ्य संस्था र चिकित्सक एवं स्वास्थ्यकर्मीबाट १२ हप्ता अर्थात तीन महिनासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ ।
बलात्कार वा हाडनाताबाट गर्भ रहन गएमा १८ हप्ता अर्थात ४ महिना ७ दिनसम्म गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ ।
महिलाको स्वास्थ्यको खतराका आधारमा, विकलाङ्ग बच्चा भएमा मान्यता प्राप्त डक्टरहरुको सिफारिसका आधारमा गर्भपतन गराउन सकिन्छ ।
गर्भधारण गर्ने महिलाको स्वीकृतिबिना, लिङ्ग पह्चिानका आधारमा भने गर्भपतन गराउन पाइँदैन ।
यद्यपि डोटीसँगै सुदूरपश्चिमका सन्दर्भमा यस क्षेत्रका मानिसहरु गर्भपतन गराउनका लागि जिल्लाभित्रै एवं जिल्ला बाहिर नेपालकै अन्य ठाउँहरु र भारतसम्म पुग्ने गरेकाले गर्भपतन गराउनेहरुको तथ्याङ्क भने एकिन छैन ।
प्रायः महिलाहरु बाध्यतामा गर्भपतन गराउने देखिएकाले परिवार नियोजन र प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना पुरुषहरुका लागि बढि आवश्यक रहेको डोटीका महिला विकास अधिकृत निर्मला दाहालको जोड छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाईजर कपिलदेव जोशीका अनुसार प्रत्येक वर्ष २ सय जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेकोमा आर्थिक वर्ष २०६९/७० मा १ सय ३४ जना, २०७०/७१ मा १ सय ७० जना, २०७१/७२ मा ३ सय ११ र चालु आर्थिक वर्ष २०७२/७३ मा फाल्गुन महिनासम्म मात्रै २ सय ५७ जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।
त्यस्तै आर्थिक वर्ष २०६८/६९ मा २६, आ.व. २०६९/७० मा ३२, आ.व. २०७०/७१ मा ३४ र आ.व. २०७१/७२ मा ३८ प्रतिशत दम्पत्तीले परिवार नियोजनका साधनको प्रयोग गर्ने गरेको जिल्ला स्वास्थ्यको तथ्याङ्क छ । जुन बढ्दोक्रममा रहेकाले सन्तोषजन पनि छ ।
असुरक्षित गर्भपतनलाई निरुत्साहित गर्न र परिवार नियोजनका स्थायी र अस्थायी विधि अपनाउनका लागि सरोकारवालाहरुले सुरक्षित व्यवहारबारे आ–आफ्ना कार्यक्षेत्रबाट प्रचार–प्रसार गर्नुपर्ने आवश्यक देखिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.