नेपालको प्राकृतिक सम्पदाको प्रशंसा
काठमाडौं: नेपाल भ्रमणमा आएका बेलायतका कान्छा राजकुमार ह्यारीले गोर्खाली सेनाले लगाएको गुण आफूहरुले कहिल्यै भुल्न नसक्ने बताएका छन् ।
शनिबार नेपाल आएका ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवास बालुवाटारमा भेट गर्दै उक्त कुरा बताएका हुन् ।
शनिबार साँझ प्रम ओलीलाई बालुवाटारमा भेट्न पुगेका उनले नेपालले आफूहरुलाई लगाएको गुणको मक्तकण्ठले प्रशंसा गरेका हुन् ।
'गोरखा सैनिकको बहादुरीको जति प्रशंसा गरेपनि कम हुन्छ', उनको भनाइ उद्धृत गर्दै प्रम ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण अनलाइनसँग भने, 'गोरखाली सैनिकले बेलायतलाई लगाएको गुण हामी कहिल्यै भुल्दैनौं ।'
राजकुमार ह्यारीले नेपालको प्राकृतिक सम्पदा, हिमाल, वनजंगल र वन्यजन्तुको खुलेर प्रशंसा गरेका छन् ।
भेटमा प्रधानमन्त्री ओलीले गोर्खा भर्तिबाट सुरु भएको दुई देशबीचको सम्बन्ध दुई सय वर्ष पुरा भएकोमा खुसी ब्यक्त गर्दै यो सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनले वैशाखको शक्तिशाली भूकम्पपछिको राहत वितरण र उद्धारमा बेलायतले पुर्याएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सम्बन्ध अझ मजबुत बनाउनुपर्ने बताएका थिए ।
आइतबार चीन भ्रमणमा निस्कने तयारीमा रहेका प्रम ओली र राजकुमार ह्यारीबीच करिब २० मिनेटसम्म भेटवार्ता भएको हो ।
प्रमसँगको भेटवार्तापछि राजकुमार ह्यारीको सम्मानमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले रात्रिभोज तथा स्वागत कार्यक्रम गर्ने भएका छन् ।
आफ्नो स्वागत समारोहमा राजकुमारले ह्यारीले नेपाल सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकृतसँग भेटघाट गर्नेछन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...