-->
प्रधानसेनापति राजेन्द्र क्षेत्री भोलि चीन जाँदै, को-को छन् भ्रमण टोलीमा ?

काठमाडौँ, १३ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेना प्रधानसेनापति फङ फेनघुईको औपचारिक निमन्त्रणामा औपचारिक भ्रमणका लागि आइतबार मित्रराष्ट्र चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
नेपाली सेनाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएपछि प्रधानसेनापतिबाट पहिलोपटक चीन भ्रमण हुन लागेको हो । प्रधानसेनापतिमा नियुक्त भएपछि छिमेकी मित्रराष्ट्रको औपचारिक भ्रमणको आदान–प्रदान हुने परम्परा छ ।
चीन भ्रमणका लागि प्रधानसेनापति क्षत्री आइतबार चीनको छेन्दु हुँदै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति क्षत्रीले चीन यात्रामा रहँदा त्यहाँको विभिन्न सैनिक संरचनाबारे स्थलगत जानकारी लिनुका साथै उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
दुई देशका सैनिकको यसखाले उच्च तहको भ्रमणबाट नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धले द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास लिएको छ ।
प्रधानसेनापतिका साथमा श्रीमती रीता क्षत्री, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापालगायत रहनुहुनेछ ।
प्रधानसेनापति क्षत्रीसहितको उच्चस्तरीय सैनिक टोली चीनको साताव्यापी भ्रमण पूरा गरेर यही चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सेनाले जनाएको छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.