-->
आम चुनावसम्म गठबन्धन नतोड्ने ओलीको संकेत

वैशाख २५, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायमै रहने दाबी गरेका छन् । उनले सँगै चुनाव लड्ने संकेत गरे ।

नेकपा मालेको सातौं राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै ओलीले अहिलेकै गठबन्धन सरकारले लगातार चुनाव गर्ने उल्लेख गरे । ‘०७४ साल माघ ७ गते यस सरकारको समय सकिन्छ,’ चुनावअघि प्रादेशिक विवाद टुंग्याउने बताउँदै भने, ‘अब लगातार चुनाव हुन्छन्, सत्ता साझेदार समूहको अहिले पनि बहुमत छँदैछ, चुनावमा अत्यधिक बहुमत ल्याउँछ, अरुले पिर परेर के गर्ने ?’

ओलीले एमाले नेतृत्वको गठबन्धन तत्काल नटुट्ने विश्वास व्यक्त गरे । ‘साथीहरु सरकार हटाउने कुरा चलिरहेको छ, तपाईं ढुक्क हुनुहुन्छ भन्छन्,’ उनले भने, ‘पल्लोपट्टिको घरमा आउनेबेलामा पनि ढुक्क हुने मान्छे हो म ।’

ओलीले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटबाट तर्सिएर विपक्षीले सरकार ढाल्ने कसरत गरेको बताए । ‘बजेट आए हटाउन गाह्रो होला, हटाए पनि लोकप्रिय भएर जान्छ भन्ने थियो,’ उनले भने, ‘म विनम्रताका साथ भन्छु नीति तथा कार्यक्रम र बजेट विकासको प्रस्थान विन्दु हुनेछ ।’

ओलीले कांग्रेसतर्फ लक्षित गर्दै विचार नपुर्याई सरकार ढाल्ने खेल खेलेको बताए । ‘कतिवटा पार्टी यस्ता छन् उफ्रँदा कसरी उफ्रनुपर्छ ध्यान दिनुपर्छ नि,’ उनले भने, ‘थेचारिँदा जखम हुने गरि थेचारिन्छन् ।’

प्रधानमन्त्रीले आगामी १० वर्षमा भूइँतलामा रहेको मुलुकलाई माथिल्लो तलामा उकास्ने बताए । उनले सबै जनताको खाद्य अधिकार रक्षा गर्ने पनि बताए । ‘यो जनताको सरकार हो सुतेकै ठाउँमा भात खान्छु कसैले भन्छ भने पनि आँ गरेको ठाउँमा पनि खुवाइदिन्छ,’ उनले भने ।

ओलीले शारिरीक र मानसिक अपाङ्ता भएकाहरुको सुरक्षाका लागि  आगामी बजेटमा विशेष कार्यक्रम ल्याउने संकेत गरे । उनले दुई चार वर्ष दु:ख गरेर भए पनि भावी सन्ततीका लागि काम गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

मालेसँग एकीकरण प्रस्ताव
एमाले अध्यक्षसमेत रहेका ओलीले १० औं महाधिवेशनअघि मालेसँग पार्टी एकीकरणको प्रस्ताव गरे ।

ओलीको प्रस्तावको महाधिवेशनमा उपस्थित प्रतिनिधिले ताली बजाएर समर्थन गरेका थिए ।

‘मलाई त ९ औं महाधिवेशनअघि नै मिलाउँ भन्ने लागेको थियो, मिलेन,’ उनले भने, ‘अब १० औं अगाडि मिलाउनुपर्छ ।’ उनले मालेको विधान परिवर्तन गरेर अध्यक्षात्मक प्रणालीमा जान पनि सुझाव दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.