रियल मड्रिडका प्रशिक्षकले भने–बार्सिलोना ला लिगाको योग्य च्याम्पियन
जेठ २ – रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बार्सिलोना स्पेनिस ला लिगाको योग्य च्याम्पियन रहेको बताएका छन् ।
शनिबार राति भएको खेलमा एक अंकको फरकले उपविजेतामा सीमित भएपछि जिदानले यस्तो बताएका हुन् । बार्सिलोनाले एक अंकले रियल मड्रिडलाई पछि पार्दै उपाधि जित्यो । रियल मड्रिडले लिगका पछिल्ला १२ खेल जिते पनि उपाधि भने उचाल्न सकेन ।
अप्रिलसम्म रियल भन्दा १० अंकले अघि रहेकोबार्सिलोना भने लिगका पछिल्ला पाँच खेल जित्दै एक अंकले अघि रहेर च्याम्पियन बन्यो । उपाधि आफ्नो पक्षमा पार्न नसक्दा आफूहरु सबै विचलित भएको तर लिगका सबै खेलमा टिमको प्रदर्शनबाट भने खुसी रहेको जिदानले बताए ।
जिदान गएको जनवरीमा रियलको प्रशिक्षकको रुपमा आएपछि भएका २६ खेलमा रियल २१ मा विजयी भएको छ । जिदानले भने ‘बार्सिलोना ला लिगाको उपाधि जित्न योग्य थियो, जित्यो ।’ बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिकले जिदानको कुरा सही भएको बताए ।
आफ्नो टिमले यो सिजनका सबै खेलमा धेरै राम्रो खेलेको प्रशिक्षक इन्ड्रिकले बताए । ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले आउँदो आइतबार कोपा डेल रेको उपाधिका लागि सेभिल्लासँग खेल्ने छ । यस्तै रियल मड्रिडले आउँदो मे २८ मा च्याम्पियन्स लिगको उपाधिका लागि छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग खेल्ने छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...