भान हाल आउट, मोरिन्हो इन
म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडले चेल्सीका पूर्व प्रशिक्षक जोसे मोरिन्होलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ । बिबिसी स्पोर्टका अनुसार आगामी हप्ता क्लबले उनलाई नयाँ प्रशिक्षक नियुक्त गर्नेछ ।
५३ वर्षीय पोर्चुगिज प्रशिक्षकले शनिबार भएको युनाइटेडको क्रिस्टल प्यालेसविरुद्धको एफए कपको फाइनल अघि नै करारका बुँदाहरुमा सहमति जनाइसकेका थिए ।
जितको प्रतिशतको हिसाबमा मोरिन्हो प्रिमियर लिगमा सबैभन्दा सफल प्रशिक्षक हुन् । युनाइटेडसँगको सम्झौताबारे मोरिन्होले केही पनि बोलेका छैनन् ।
लुइस भान हालको नेतृत्वमा युनाइटेड च्याम्पियन्स लिगमा छनौट हुन असफल भएपछि युनाइटेडको बोर्डले क्लबको प्रशिक्षक परिवर्तन गर्ने निर्णय गरेको बताइएको छ । मोरिन्होको नियुक्तीसँगै ६४ वर्षीय भान हालको युनाइटेडसँगको यात्रा अन्त्य हुनेछ ।
यद्यपि, एफएकपपछि उनले ६ महिनाअघिदेखि नै आफूलाई क्लबबाट हटाएको समाचार प्रकाशन गर्ने पत्रकारहरुसँग आफ्नो भविष्यको बारेमा कुरा गर्न नचाहेको स्पष्ट पारे । उनले भने, ‘म तपाईंहरुसँग फेरि भेट्ने आशा गर्छु । म अहिले क्लब छाड्ने कुरा गर्न चाहन्न ।’
आफ्नो कार्यकालमा २५० मिलियन पाउण्ड खर्च गरे पनि भान हालले आशातित नतिजा निकाल्न नसकेपछि क्लकका फ्यान समेत उनीसँग असन्तुष्ट छन् । तीन वर्षीय करारमा उनको अझै एक वर्ष बाँकी नै रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...