-->
सजिलै छक्किन्छ त्रिभुवन विमानस्थल

काठमाडौं- एउटी महिला अस्वाभाविक देखिने गरी माछा मार्न प्रयोग हुने नाइलनको डोरी लिएर दक्षिण अमेरिकी देश हुँदै नेपाल आइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कसैले शंका गरेन। लागुऔषध नियन्त्रण ब्युरोले जेठ ९ गते पक्राउ गरेपछि नाइलनको डोरीको लट्टाई कोकिन ओसार्न प्रयोग भएको साधनमात्र रहेको पुष्टि भयो। 

पाकिस्तानबाट आएकी महिलाले एउटा ठूलो सुटकेस नै खाद्यान्नले भरेर ल्याइन्। उनलाई पनि विमानस्थलमा खासै चेकजाँच भएन। विशेष ब्युरोले उनको त्यही सुटकेसबाट ३६ लाख भारतीय जाली नोट र १९ हजार पाँच सय अमेरिकी डलरका जाली नोट बरामद गर्यो ।

केही दिनअघिका यी दुई घटनाबाहेक विभिन्न समयमा पक्राउ परेका लागुऔषध र जाली नोटका कारोबारी र भरियाले देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा चेकजाँचलाई छलेर सामग्री भिœयाउने गरेका हुन्। लागुऔषध नियन्त्रण ब्युरो र विशेष ब्युरोले पछिल्ला पाँच वर्षमा गरेका अधिकांश अप्रेसनमा जाली नोट, खैरो र सेतो हेरोइन, कोकिन ठूलो मात्रामा सुटकेसमा फल्स बटन बनाएर र विभिन्न सामग्रीको आवरणमा नेपाल भित्र्याउने गरेको फेला परेको हो।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना प्रहरीका विभिन्न युनिटसँग मिलेर बेलाबेला संयुक्त कारबाहीसमेत हुने गरेको बताउँछन्। उनले भन्सार यार्डमा लागुऔषध, विशेष ब्युरो र अनुसन्धान विभागका विशेषज्ञ हुने दाबीसमेत गरे। 'लागुऔषध पत्ता लगाउने क्षमता भन्सारसँग हुँदैन, कर्मचारी पनि विज्ञ हुँदैनन्, आवश्यकता परे प्रहरीसँग मिलेर काम भएको छ,' ढुंगानाले भने।

लागुऔषध नियन्त्रण ब्युरोले जेठ ९ गते पक्राउ गरेकी भेनेजुयलाकी ४९ वर्षीया यमरिस कामरिस नारभाजले डोरीको लट्टाई र जेठ ८ गते विशेष ब्युरोको सूचनामा काठमाडौं प्रहरीले पक्राउ गरेकी समा नाजले खाद्यान्नका प्याकेटलाई कोकिन र जाली नोट बोक्न माध्यम मात्र बनाएका थिए। देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवैजना सजिलै बाहिरिएका थिए।

'निकै सावधानीपूर्वक डोरीको बन्डलमा लुकाएर कोकिन राखेको भेटियो, एउटी महिलाले यति धेरै नाइलनको डोरी किन बोकेको, शंका हुनुपर्ने हो,' लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्दले नारभेजलाई सार्वजनिक कार्यक्रममा भनेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने लागुऔषध र जाली नोटका कारोबारी र भरियाका अस्वाभाविक व्यवहार र सामग्रीमा भन्सार कर्मचारीले खासै चासो नदिँदा लागुऔषध र जाली नोट भित्रने गरेको हो। लागुऔषध नियन्त्रण ब्युरो र विशेष ब्युरोले विभिन्न समयमा पक्राउ गरेका लागुऔषध कारोबारी र जाली नोटका भरिया बारम्बार विमानस्थल भन्सारलाई छक्याएर भित्रिएपछि मात्र पक्राउ पर्ने गरेका हुन्।

भित्रिँदा भन्सार मात्र

विमानस्थल भएर आउने व्यक्तिका लागि भन्सारको एकलौटी चेकजाँचलाई लागुऔषध र जाली नोट कारोबारीले अवसरका रुपमा विगतदेखि उपयोग गर्दै आएका छन्। भन्सारमा रहने कर्मचारीले आँखाले देखे र भेटेसम्म यात्रुका सामग्री चेकजाँच गरे पनि नेपालका विषयमा जानकार भएका कारोबारीले विभिन्न सामग्री र उपायलाई साधन बनाएर तस्करी गरिरहेका हुन्।

'सूचना संयन्त्रले काम गरिरहेकाले भित्रिए पनि बाहिरिन पाएको छैन, ब्युरोको रेकर्डमा रहेका घटनामा पक्राउ परेका व्यक्ति विमानस्थल भएर आएको देखिन्छ,' लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले भने।

प्रहरी भन्सार विवाद

केन्द्रीय अनुसन्धान ब्युरोलाई इन्टरपोलबाट आएको सूचनाका आधारमा गत वर्ष फागुन २० गते छापा मार्दा प्रहरीको उपस्थितिसमेत भन्सार कर्मचारीले रुचाएनन्। सिआइबीलाई अत्याधुनिक हतियार भित्रिएको सूचना आएपछि गरेको कारबाहीमा हतियारसमेत बरामद भएको थियो। तर पनि भन्सार कर्मचारीले हडताल नै गरेर प्रहरीलाई आवश्यक कारबाही अगाडि बढाउन नदिई पन्छाए। यो नै पहिलो घटना भने होइन। यसअघि विभिन्न समयमा प्रहरीले भन्सार यार्डमा प्रवेश गर्न खोजे पनि कर्मचारी र प्रहरीबीच विवाद हुँदै आएको छ।

कोकिनसहित चिनियाँ पक्राउ

प्रहरीले तीन केजीभन्दा बढी लागुऔषध कोकिनसहित एकजना चिनियाँ युवालाई पक्रेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पासपोर्ट नम्बर के०२३३४५७५ वाहक चिनियाँ नागरिक २१ वर्षीय चुन मान होलाई शनिबार पक्रेको हो।

ब्युरोका अनुसार बुधबार एयरपोर्ट नजिक एक बोलभियाली महिलासँग कोकिन लिएर हो नेपाल हुँदै हङकङ जाने योजनामा थिए। नेपालअघि दुबईबाट हङकङ दुई खेप कोकिन पुर्याकएका हो यसपटक मलेसिया हुँदै हङकङ जाने योजनामा थिए।

'हङकङमा स्याम भन्ने नागरिकलाई बरामद भएको कोकिन दिने योजना रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,' ब्युरोका डिआइजी जयबहादुर चन्दले भने। उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चरतर्फ होल्ड ब्यागेज एक्सरे चेकिङमा शनिबार उनले बोकी आएको सुटकेसबाट भित्र फल्स बटन बनाई लैजान लागेको अवस्थामा कोकिन बरामद भएको थियो। ब्युरोका अनुसार बरामद कोकिनको अवैध बजार मूल्य ६ करोड ३५ लाख पर्छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.