वैशाख २९, २०७३- बबई सिँचाइ आयोजनाको मूल नहरको पूर्वी क्षेत्रमा स्थानीय बासिन्दाले जनश्रमदानबाट सफाइ गरेका छन् ।
वर्षायाममा नहरमा बालुवालगायत फोहर थुप्रिने गरेकाले नहर सफा गर्न स्थानीयले श्रमदान गर्ने गरेका हुन् । बबई नदीको बाँधबाट करिब १ किमि मूल नहर सफा गर्न करिब १५ सय किसान जुटेर नहरको सेटलिङ बेसिन सफा गरेको आयोजना प्रमुख मधुकर राजभण्डारीले बताए । जेठको दोस्रो साता सिँचाइका लागि मूल नहरमा पानी छाड्ने लक्ष्य रहेकाले मूल बाँध परेवा ओडारबाट पूर्व १ किमि पूर्व मूल नहर सफा गरिएको हो ।
मूल नहरमा गिट्टी, ढुंगा, रूखका हाँगा जम्मा हुने गरेकाले यसलाई बर्सेनि सफा गर्नुपर्ने बाध्यता रहेको आयोजना प्रमुख राजभण्डारीले जनाए ।
नहरले मौजदा, झेना, पदनाहा र राजकुलोमा सिँचाइको सुविधा पुर्याएको छ । २०५१ साल चैत ९ गते बबई मूल नहरको काम सम्पन्न गर्न सरकारले राष्ट्रिय अभियानका रूपमा काम सञ्चालन गरेको थियो ।
२०४५ सालमा प्रथम चरणको पूर्व तर्फको नहर निर्माण कार्य सुरु गरे पनि सिँचाइ सुविधा लक्षित ठाउँमा पुग्न अझै तीन वर्ष लाग्ने भएको छ । २ सय १४ किमि शाखा, प्रशाखा र संरचना निर्माण गर्नुपर्ने लक्ष्य रहेकामा करिब सय किमि शाखा नहर बनेको छ ।
प्रथम चरणमा पूर्व तर्फको २१ हजार हेक्टर र पूर्व तर्फ १५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने योजनाको लक्ष्य रहेको आयोजनाले जनाएको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...