-->
लण्डनमा पहिलो मुसलमान मेयर

ब्रिटेनको प्रमुख विपक्षी लेबर पार्टीका नेता सदिक खान लण्डनको मेयर पदमा निर्वाचित भएका छन्।

योसँगै उनी लण्डनको पहिलो मुसलमान मेयर बनेका छन्।

साथै खानले युरोपेली संघको सदस्य मुलुकको राजधानीको पहिलो इस्लामिक मेयरको किर्तिमान समेत बनाएका छन्।

लेबर पार्टीका खानले कन्जरभेटिभ दलका आफ्ना प्रत्यासी ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए र उनले अब बोरिस जनसनको ठाउँ लिनेछन्।

वाचा

उनले भने, “मैले लण्डनका सबैको मेयर बन्ने वाचा गरेको छु, तपाईंको पृष्ठभूमिलाई नहेरी कडा परिश्रम गर्न एवम् सबैको जिन्दगी अझ राम्रो बनाउन र मेरो हैसियतमा ती सबै गर्नेछु ताकि तपाईंले अवसरहरु पाउनुस् जुन अवसर मलाई यो अविश्नसनीय शहरले दियो।”

खानको विजयले लेबर पार्टीका नेता जेरेमी कर्बियनलाई सघाउने देखिन्छ जसको पार्टीले पछिल्लो समय देशभर भएका अन्य निर्वाचनहरुमा निराशाजनक नतिजा ल्याएको थियो।

सदिक खान अझै पनि लण्डनमा चलनचल्तीको नाम होइन।

तर पाकिस्तानबाट आएका एकजना आप्रवसासी बस चालकका यी ४५ वर्षीय छोरा अब ब्रिटेनको सबैभन्दा ठूलो र सम्पन्न शहरका मेयर चुनिएका छन्।

आकांक्षा

Image copyrightReuters
Image captionनवनिर्वाचित पहिलो मुसलमान मेयर सदिक खानले अब बोरिस जनसनको स्थान लिनेछन्।

चुनावी अभियानका क्रममा उनले आफ्नो साधारण पृष्ठभूमि र इस्लाम धर्मप्रतिको अस्थाबारे चर्चा गरेका थिए।

त्यसक्रममा उनका विपक्षी कन्जरभेटिभ उम्मेदवारले खानको सम्बन्ध इस्लामवादी उग्रवादीहरुसँग रहेको आरोप लगाएपछि चुनावी अभियान विवादित पनि बनेको थियो।

सबै राजनीतिक पृष्ठभूमिका व्यक्तिहरु अहिले खानको चुनावी विजयले अन्य अल्पसंख्यकहरुलाई पनि उच्च ओहदाको आकांक्षा राख्न प्रेरणा दिने विश्वास गरिरहेका छन्।

तर लण्डनमा धान्न सक्ने मूल्यका आवास उपलब्ध गराउने र महंगी घटाउने, उनका चुनावी वाचा कार्यान्वयन गर्नुभन्दा त्यस्तो उदाहरण दिनु धेरै सजिलो रहेको ठान्नेहरु पनि छन्।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.