-->
बार्सिलोनाका खेलाडी जस्तो सुकै चुनौती पार गर्न सक्षम : प्रशिक्षक

जेठ १ – स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिकले आफ्नो टिमका खेलाडी जस्तोसुकै चुनौती पार गर्न तयार रहेको बताएका छन् । 
बार्सिलोनाले शनिबार ला लिगा उपाधिका लागि महत्वपूर्ण मानिएको खेलमा ग्रनाडासँग खेल्दैछ । यो खेलमा विजयी भएमा बार्सिलोनाले ला लिगाको उपाधि उल्चाल्नेछ । लिगको अन्तिम खेल बाँकी हुँदा बार्सिलोना र रियल मड्रिड उपाधि होडमा छन् ।

बार्सिलोनाको ८८ अंक छ भने रियल मड्रिडको ८७ अंक छ । शनिबार राति हुने खेलमा बार्सिलोना पराजित भयो र रियल मड्रिड डिप्रोटिभो डी ला कोरुनासँग बराबरीमा रोकियो भने पनि बार्सिलोनाले उपाधि जित्ने छ । 
आफ्नो टिम अरु कुनै टिम भन्दा फरक रहेको र जस्तो सुकै चुनौती सहज रुपमा समाना गर्न तयार रहेको प्रशिक्षक इन्ड्रिकले बताए । बार्सिलोनाले गएको सिजन ला लिगा, च्याम्पियन्स लिग तथा कोपा डेल रेको उपाधि जितेर ह्याट्रिक गरेको थियो ।

यो सिजन भने बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको थियो । बार्सिलोनाका प्रशिक्षक इन्ड्रिकले भने ‘यी खेलाडीले धेरै कुरा जितेका छन् । ग्रनाडासँगको जस्ता खेल बार्सिलोनाका खेलाडीका लागि क्षमता प्रदर्शन गर्ने अवसर हो ।’

बार्सिलोनाले गएको अप्रिल एकसम्म ९ अंकको अग्रता लिएको थियो । तर पछिल्ला खेलमा गरेको नराम्रो प्रदर्शनका कारण समस्यामा परेको थियो । बार्सिलोनाले आउँदो मे २२ मा स्पेनिस कपको उपाधिका लागि सेभिल्लासँग खेल्ने छ ।

तर अहिले सेभिल्लासँगको खेल आफ्नो दिमागमा नरहेको प्रशिक्षक इन्ड्रिकले बताए । ला लिगा युरोपकै सबै भन्दा कठिन लिग भएको र आफूहरुको ध्यान त्यसको उपाधि जित्नेमा रहेको उनले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.