सिन्धुलीको फिक्कललाई प्रवर्द्धन गर्न स्थानीयको माग
खोलागाउँ (सिन्धुली): सिन्धुलीको महादेवडाँडा, सोल्पा, खोलागाउँ र खाङसाङ गाविसको संगम स्थल फिक्कल क्षेत्रलाई जिल्लाको नमुना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन्।
फिक्कलको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक पहल गर्न माग गरिएको हो।फिक्कललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सरकारले लामो समयदेखि सुरु गरेको भए पनि खासै गति पाउन सकेको थिएन।
स्थानीय बासिन्दाको प्रयास तथा स्थानीय स्तरमा फिक्कललाई विश्वसामु परिचित गराउन गठन गरिएको विश्वप्रसिद्ध फिक्कल विकास समितिको प्रयासमा त्यस क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्र बनाउन काम सुरु भए पनि सरकारी निकायको उदासीनताले गर्दा उनीहरूमा समेत उत्साह हराउँदै गएको छ।
गाउँ विकास समिति, जिल्ला विकास समिति र संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्रालयले बर्सेनि केही रकम विनियोजन गर्ने गरेको छ। उक्त रकमबाट गत वर्षदेखि भ्युटावर निर्माणको काम सुरु गरिएको छ । निर्माणाधीन नौतले भ्युटावरबाट नेपालका ४० जिल्ला अवलोकन गर्न सकिने जनाइएको छ।
भ्यु टावरको निर्माण आरम्भ भएपछि स्थानीय बासिन्दा हर्षित देखिए पनि सरकारी निकायले सहयोगलाई निरन्तरता नदिँदा निर्माणले गति लिन सकेको छैन ।
आकर्षक र मन लोभ्याउने गाउँ फिक्कलमा भएको बहुमूल्य प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै जिल्लाको विकासमा सहयोग पुर्याउन चाँडोभन्दा चाँडो फिक्कललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आवश्यक रहेको एमाले खोलागाउँका नेता विष्णु पहाडी बताउँछन्।
'पर्यटकीय क्षेत्र निर्माण गर्ने भनेको वर्षौं बित्दा समेत अहिलेसम्म गतिलो सडकसमेत निर्माण नहुँदा त्यस क्षेत्रका स्थानीयमा पर्यटक आउँछन् आफ्नो गाउँमा पनि भन्ने विश्वास हराउँदै गएको छ । यो सरकारी उदासीनताकै कारण पनि हो। यसमा सरकारले विशेष ध्यान दिनु पर्छ,' उनले भने।
समग्र जिल्लालाई नै पहिचान दिलाउन सक्ने सुनुवार संस्कृति, मगर संस्कृति र पुरानो नाचको रूपमा परिचित मारुनी नाच, लहरे भाकाको उदगम स्थल पनि फिक्कलआसपासका गाउँबस्ती भएकाले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सालघारी उमावि खोलागाउँका प्रधानाध्यापक टेकबहादुर रजनको भनाइ छ।
समग्र जिल्लालाई नै पहिचान दिलाउन सक्ने सुनुवार संस्कृति, मगर संस्कृति र पुरानो नाचको रूपमा परिचित मारुनी नाच, लहरे भाकाको उदगम स्थल पनि फिक्कलआसपासका गाउँबस्ती भएकाले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना छ।
उनले भने, 'फिक्कललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी यस क्षेत्रका स्थानीयको जीवनमा परिवर्तन ल्याउन स्थानीय राजनीतिक दलका नेताहरू जिम्मेवार बनेर लाग्न आवश्यक रहेको छ।' फिक्कललाई जिल्लाकै आकर्षक पदमार्गका रूपमा विकास गर्न सकिने समेत स्थानीयको भनाइ छ।फिक्कलको काख खोलागाउँ चनौटेसम्म पुग्ने कच्ची सडक निर्माण भए पनि पक्की सडक भने अहिलेसम्म निर्माण हुन सकेको छैन।
पक्की सडकको निर्माणका साथसाथै फिक्कलको ऐतिहासिकतालाई प्रचारप्रसार गर्दै पदमार्गको समेत विकास गर्ने र स्थानीय स्तरमा सुविधायुक्त होम स्टे सञ्चालनमा ल्याउन सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने खोलागाउँ चनौटेका कांग्रेस नेता तुलसी श्रेष्ठको भनाइ छ। राजनीतिक दलका स्थानीय तहका नेताहरू फिक्कलको विकासमा लागि परे पनि माथिल्लो तहका नेता र सरकारी निकायको उदासीनताका कारण पछि पर्दै गएको उनको भनाइ थियो।
पछिल्लो सर्वेक्षणअनुसार सात हजार सात सय ७१ फिट उचाइमा रहेको फिक्कलमा एक सय ३४ प्रजातिका बहुमूल्य जडीबुटी पाइने विज्ञले बताएका छन्। फिक्कल सम्भावित सुनखानीको क्षेत्रको रूपमा समेत रहेको अनुमान गरिएको छ।
त्यस्तै फिक्कल पहाडमा नै रहेको रहस्यमय गुफा पनि पर्यकीय दृष्टिले महत्वपूर्ण छ। त्यहाँका गुफाभित्र महाकाली देवीको बास भएको र विश्वलाई नै प्रभावित तुल्याउन सक्ने अलौकिक शक्तिको भण्डार पनि त्यस क्षेत्रमा रहेको अनुमान गरिएको छ।
फिक्कललाई पर्यटकीय क्षेत्र बनाउन सुनकोसीमा र्याफ्टिङको व्यवस्था, मध्यपहाडी लोकमार्गदेखि फिक्कलसम्मको कच्ची सडक कालोपत्रे, फिक्कलवरिपरिका गाउँहरूमा होम स्टे सञ्चालन, लोप हुन थालिसकेको स्याउ खेतीको फेरि सुरुवात, जैतुन (ओलिब) खेतीको आरम्भजस्ता विकासका कार्य गरेर आर्थिक रूपमा समेत फिक्कलआसपासका स्थानीयलाई बलियो बनाउन सकिने स्थानीय अगुवा बताउँछन्।
फिक्कलको पर्यटकीय विकासले फिक्कल र सिन्धुली जिल्लामात्र होइन, छिमेकी जिल्लाहरू रामेछाप, ओखलढुंगा, उदयपुरलाई समेत आर्थिक दृष्टिले सहयोग पुग्ने भएकाले फिक्कललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सरकारी निकाय जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता देखिन्छ।फिक्कल पुग्न मध्यपहाडी लोकमार्गबाट झन्डै २० किलोमिटर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका कारण अहिले त्यस क्षेत्रमा पर्यटक आउने गरेका छैनन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...