त्यो डर, यो आत्मीयता
लामो कपाल पालेका, ट्याटु खोपेका र डरलाग्दो तरिकाले हेर्ने युवा देख्यो भने सात्तो जान्थ्यो, कुनैबेला । त्यसैमाथि लागुऔषधि सेवनकर्ता भनेपछि उनीहरुको नजिक पर्नुअघि मन चिसो हुन्थ्यो । सायद हाम्रो सामाजिक संरचना उब्जाएको धेरै डर र केही घृणा ममा पनि थियो । यसैको प्रतिक्रिया थियो यस्तो मान्छेहरु देख्नेबित्तिकै गलत धारणा सिर्जना भइहाल्ने ।
लागु औषधकै चपेटामा परेर जीवनलाई अँध्यारो धकेलिरेहको युवालाई उज्यालोतिर फर्काउन सहयोग गर्दै आएको संस्था सारथी नेपालमा काम गर्न जानुअघिको मेरो धारणा थियो यो । जब उनीहरुको सामिप्यमा रहेर सेवा गर्ने अवसर मिल्यो, पुरानो त्यो त्रासयुक्त धारणा सम्पूर्ण रुपमा हटिसकेको थिएन । सेवाका लागि नर्सिङ पढिसकेपछि मैले सेवाबाटै पछि हट्नु हुन्थेन र म अघि सरेँ ।
हाम्रो समाजको बिडम्बना हो यो । कसैप्रति कोही आफू अनुकुल धारणा बनाउने हुनुअघि समाजले अर्कै धारणा थोपरिसकेको हुन्छ । कतिपय अवस्थामा ती पूर्वाग्रही दृष्टिकोण जीवनभर बदल्न सकिदैन । ५ महिनाअघि यहाँ नपुगेकी म पनि उनीहरुप्रति यही एउटा धारणा बोकेर जीवनभर छिःछि दुरदुर गरिरहन्थेँ । जस्तो अहिले हाम्रो समाजको अधिकांसले गर्छन् ।
विश्व स्वास्थ्य संगठनले लागु औषधका दुव्र्यसनीलाई मानसिक रुपमा अस्वस्थ ब्यक्तिका रुपमा परिभाषित गरेको छ । एउटा अस्वस्थ व्यक्ति शाररिक र मानसिक रुपमा विक्षिप्त रहन्छ नै । यो अवस्थामा अन्य रोगको बिरामीले पाउने स्याहार, सम्भार र मायाममता उनीहरुले पनि पाउनुपर्छ ।
समाजमा उीहरुलाई ‘ट्यापे’, ‘जंकी’ जस्ता उपनाम दिइएका हुन्छन् । उनीहरुले राम्रो काम गर्नै सक्दैनन् भन्ने दृष्टिकोणले गलत मार्गरित धकेलिरहेको हुन्छ । कुनै अपराधिक गतिविधि हुन वित्तिकै पहिलो निशाना उनीहरु हुने गरेका छन् । जुन नितान्त गलत हो ।
कुनै परिस्थिति वा लहलहैमा लागू औषधिको चंगुलमा फसेकाहरु पछि गएर राम्रो काममा लागेको प्रशस्तै उदाहरण छन् । यसकारण उनीहरुलाई कसरी टाढा बनाउने भन्दा पनि कसरी समाजमा पुनःस्थापना गर्ने भन्नेतिर सबैले सोच्न जरुरी छ । सीपमूलक तालिम तथा अन्य अवसर जुटाएर उनीहरुलाई आत्मनिर्भर बनाउनतिर लाग्नुपर्छ ।
यस्ता व्यक्तिहरुलाई घृणा होइन, सजह उपचार पहुँच र पुर्नस्थापना बारे सोचौं ।


0 comments
प्रतिक्रिया दिनुहोस्...