जेष्ठ १४, २०७३- राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको शंकास्पद मृत्युबारे संसदीय समिति र सांसदहरूले चासो राखेका छन् ।
संसदमा शुक्रबार विशेष समय लिएर बोल्ने सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । संसदकै सामाजिक न्याय तथा मानवअधिकार समितिका पदाधिकारीहरूले महाराजगन्ज शिक्षण अस्पतालमा पुगी मृतकका आफन्तसँग भेटघाट गरेका छन् । त्यहाँ मृतकका दाजु विमल, आमा र अन्य आफन्तहरू थिए ।
नवलपरासीको बर्दघाटस्थित आफ्नै घरमा बिहीबार मृत भेटिएकी मनीषाको शव पोस्टमार्टमका लागि राजधानी ल्याइएको छ । विशेष समय र शून्य समयमा बोल्ने सांसदहरू विक्रम खनाल, दिलशोभा पुन, कृष्णप्रसाद पौडेललगायत सांसदहरूले घटनाको सूक्ष्म छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन् । मृतकको शरीरमा नीलडाम देखिएको उल्लेख गर्दै त्यस क्षेत्रका सांसदरूले प्रारम्भिक अनुसन्धान र अवलोकनका आधारमा मनीषाको हत्या भएको आशंका गरेका हुन् । हत्यामा संलग्न रहेको आशंकामा उनका प्रेमी दाबी गरिएका रुद्रनारायण चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...