काठमाडौं, जेठ ११ – नक्कली भारतीय रुपैयाँ र अमेरिकी डलरसहित पाकिस्तानी र भारतीय नागरिकसहित ८ जना काठमाडौंमा पक्राउ परेका छन् ।
झण्डै ५६ लाख नक्कली भारतीय रुपैयाँ तथा साढे १९ हजार नक्कली अमेरिकी डलरसहित पक्राउ परेका उनीहरु संगठित रुपमै नक्कली मुद्राको ओसारपसारमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।
प्रहरीले पाकिस्तानको कराँचीबाट दोहा हुँदै कतार एअरवेजबाट काठमाण्डू आएकी पाकिस्तानी महिला सामा नाजलाई प्रहरीले ३६ लाख नक्कली भारु र साढे १९ हजार नक्कली अमेरिकी डलरसहित सिनामंगलबाट पक्राउ गरेको हो ।
उनले सुटकेशमा विभिन्न खाद्य सामग्रीको प्याकेटभित्र लुकाएर नक्कली पैसा काठमाडौं ल्याएको प्रहरीले जनाएको छ । यसअघि २ पटक काठमाण्डू आइसकेकी उनले जाली पैसा पठाउने व्यक्तिलाई हुण्डीबाट रकम भुक्तानी गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
यस्तै १९ लाख ८७ हजार नक्कली भारुसहित भारत विहारका बैजनाथ गुप्ता, दोलखाकी मीरा जिरेल, काठमाडौंका सुमन मल्ल, सप्तरीका तारणीप्रसाद ठाकुर, रुपन्देहीका विजय शर्मा, गुल्मीका सनद प्रधान र डोटी सिलगढीका अमृतमान श्रेष्ठलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका छन् ।
यसअघि लागु औषध मुद्दामा भारतीय नागरिक गुप्ताले १५ वर्ष र विजय शर्माले ९ वर्ष जेल सजाय भोगिसकेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...