-->
धोनीप्रति विश्वस्त देखिएनन् गांगुली

नयाँ दिल्ली–ब्याटिङ हस्ती सौरभ गांगुलीले २०१९ को विश्वकपसम्म महेन्द्रसिंह धोनीले नेतृत्व गर्न सक्नेमा छनोटकर्ताहरू विश्वस्त नभएसम्म उनलाई सीमित ओभरमा पनि भारतीय टोलीको कप्तानी जिम्मेवारीबाट अलग राख्नुपर्ने बताएका छन् ।
घरेलु मैदानमा हालै सम्पन्न ट्वान्टी–२० विश्वकपको सेमिफाइनलबाट भारत बाहिरिएपछि धोनी २०१९ जुलाईमा इङ्ल्यान्डमा हुने ५० ओभरको विश्वकपसम्म टोलीमा नहुन सक्ने आलोचकहरूले बताउँदै आएका छन् । इङ्ल्यान्डमा तीन वर्षपछि एकदिवसीय विश्वकप हुँदा वर्तमान भारतीय कप्तानको उमेर ३८ भइसक्नेछ ।
धोनीभन्दा अगाडि टेस्ट तथा एकदिवसीय दुवै टोलीमा भारतका कप्तान गांगुलीले भने 'क्याप्टेन कुल' को उपनामले चिनिने धोनी आउँदो चारवर्षसम्म उच्च फर्ममा रहनेमा शंका व्यक्त गरेका छन् । '२०१९ मा धोनीले भारतीय टोलीलाई नेतृत्व दिन सक्छन् कि सक्दैनन् भन्ने मुख्य कुरा हो । छनोटकर्ताहरू यो विषयमा पक्का हुनुपर्छ । उनी आउँदो एकदिवसीय विश्वकपमा भारतको कप्तानमा रहन सक्दैनन् भन्ने हो भने अहिल्यै नयाँ कप्तान खोज्नुपर्छ,' गांगुलीले मंगलबार इन्डिया टुडे टेलिभिजनसँग भने, 'तर, उनले सक्छन् भन्ने हो भने त्यो अत्यन्तै आश्चर्यजनक कुरा हुनेछ । मलाई पनि धोनीले २०१९ को विश्वकपसम्म भारतीय टोलीको नेतृत्व गर्न सक्छन् भन्नेमा धेरै शंका छ ।'
भारतीय टोलीका विकेटकिपर÷ब्याट्सम्यान धोनीले २०१४ को डिसेम्बरमा टेस्ट टोलीको कप्तानबाट राजीनामा दिएका थिए । भारतलाई टेस्ट क्रिकेटमा कीर्तिमानी २७ जित दिलाएका उनको स्थान टेस्ट टोलीमा विराट कोहलीले लिएका थिए । तर, एकदिवसीय तथा ट्वान्टी–२० टोलीमा भने अझै पनि धोनी नै कप्तान छन् ।
ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा वेस्ट इन्डिजसँग पराजित भएपछि पत्रकारले उनको भविष्यबारे सोधेको प्रश्नमा धोनीले प्रतिप्रश्न गरेका थिए, 'तपाईहरूलाई म अनफिट छु जस्तो लाग्छ ? २०१९ को विश्वकपसम्म म टोलीमा रहन सक्दिनँ भन्ने तपाईहरूलाई लाग्छ ?'
टेस्ट क्रिकेटमा उनको कप्तानीबारे औंला उठाइए पनि सीमित ओभरको खेलमा भने धोनीलाई विश्व क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तानमध्ये एकमा लिइन्छ । धोनीको नेतृत्वमा भारतले २००७ मा सम्पन्न ट्वान्टी–२० विश्वकपको पहिलो संस्करण तथा २०११ को एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।
आफ्नै देशमा सम्पन्न ट्वान्टी–२० विश्वकपपछि भने इन्डियन प्रिमियर लिग (आइपिएल) मा उच्च फर्मका लागि संघर्ष गरिरहेका छन् । उनको नेतृत्वमा रहेको आइपिएलको नयाँ टोली राइजिङ पुने सुपरजायन्ट्स अंकतालिकामा निकै तल छ ।
गांगुलीले राष्ट्रिय टोलीको कप्तानमा आफूलाई स्थानान्तरण गरेका धोनीको उपलब्धिप्रति आफ्नो सम्मान रहेको बताउँदै कप्तानबाट हटाइए पनि तत्काल टोलीमा उनको आवश्यकता रहेको बताएका छन् । 'धोनी भारतीय क्रिकेटमा एकजना अत्यन्तै सम्मानित नाम हो । उनी भारतीय टोलीका महान कप्तानमध्ये एक हुन् । उनको नेतृत्वमा भारतले ठू–ठुला सफलतामा खुसी मनाएको छ,' गांगुलीले भने, 'टिमलाई थप सफलताको बाटोमा डो¥याउन बढीभन्दा बढी उनको सेवा लिनुपर्छ । उनी टोलीमा रहँदै नयाँ कप्तान नियुक्त गर्न सकियो भने नयाँले पनि उनीबाट सिक्ने मौका पाउनेछ ।'


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.