जेष्ठ ११, २०७३- अमेरिकामा प्रशिक्षणका क्रममा रहेका ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनील लामाले २२ औं ट्रेडिसनल कराँते डो आमन्त्रण च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् ।
सोतोजुकु कराँते डोजोको आयोजनामा मे २२ मा न्युयोर्कमा आयोजित प्रतियोगिताको ६७ केजी तौल समूहमा पहिलो चरणमा बाई पाउँदै सेमिफाइनल प्रवेश गरेका सुनीलले सेमिफाइनलमा अमेरिकी खेलाडी जोय कास्ट्रोलाई ७–३ अंकले पराजित गरे । उनले फाइनलमा विल टोरेसलाई १–० ले पराजित गरेर स्वर्ण हात पारेका थिए ।
उक्त प्रतियोगितामा १३ औं बैंकक एसियाडमा कराँतेतर्फ कांस्यपदक विजेता सम्बरबहादुर गोलेले निर्णायकको भूमिका निर्वाह गरेको आठौं र नवौं सागका स्वर्ण विजेता एवं कराँतेका राष्ट्रिय प्रशिक्षक दीपक श्रेष्ठले जनाए ।
सन् २०१२ मा हङकङमा आयोजित १३ औं एसियन प्यासिफिक कराँते प्रतियोगिताका विजेता सुनील अमेरिकाको न्युयोर्कस्थित गोसिन रियो कराँते एकेडेमीमा प्रशिक्षण लिइरहेका छन् । उनले न्युयोर्कमा अप्रिल २५ मा २१ औं एन्युएल हेराल्डोज काई सोबुकान कराँते च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । उनी प्रशिक्षणका लागि करिब ३ महिना अमेरिकामै रहने कार्यक्रम छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...