-->
रोनाल्डो भर्सेस स्वारेज

जेठ १ – स्पेनिस ला लिगाको उपाधि विजेताको टुंगो शनिबार राति लाग्दैछ । यो सिजन लिगमा आआफ्नो अन्तिम खेल खेल्न लागेका बार्सिलोना र रियल मड्रिड उपाधि होडमा छन् ।
 शीर्ष स्थानको बार्सिलोनाले ग्रनाडा तथा दोस्रो स्थानको रियल मड्रिडले डिप्रोटिभो डी ला कोरुनासँग खेल्दैछन् । उपाधिका लागि बार्सिलोनालाई जित मात्रै पर्याप्त हुनेछ भने रियल मड्रिडका लागि आफूले जितेर पनि बार्सिलोना बराबरीमा रोकिनु पर्छ ।

ला लिगामा यो सिजन गएको ६ सिजनदेखिको क्रम भंग हुने सम्भावना छ । यो सिजन बार्सिलोनाका लुइस स्वारेज ला लिगाका सर्वाधिक गोलकर्ता बन्ने सम्भावना धेरै छ ।
 रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले शनिबार रातिको खेलमा चार वा त्यो भन्दा बढी गोल गरे र स्वारेजले एक गोल पनि गरेन् भने मात्रै यो नतिजा रोनाल्डोको पक्षमा जान्छ । अहिलेसम्म ३७ गोल गरेका स्वारेज शीर्ष स्थानमा छन् । १६ गोलका लागि सहयोग गरेका उनले कुल तीन हजार ६० मिनेटको खेलमा प्रत्येक ८३ मिनेटमा एक गोलका दरले ३७ गोल गरेका छन् ।

यो सिजन सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका रोनाल्डोले अहिलेसम्म ३३ गोल गरेका छन् भने ११ गोलका लागि सहयोग गरेका छन् । 
३१ सय ३८ मिनेट खेलेका उनले प्रत्येक ९५ मिनेटमा एक गोल गरेका छन् । २६ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सी तथा समान २४ २४ गोल गरेका बार्सिलोनाका नेइमार र रियल मड्रिडका करिम बेन्जिमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष पाँचमा परेका छन् ।
सन् २००९–१० को सिजनदेखि अहिलेसम्म रोनाल्डो वा मेस्सी मात्रै ला लिगाका सर्वाधिक गोलकर्ता बनेका छन् । रोनाल्डोले शनिबार राति चार गोल गर्न नसके यो क्रम स्वारेजले भंग गर्ने छन् । सन् २००८–०९ को सिजनमा डिएगो फोर्लान सर्वाधिक गोलकर्ता बनेका थिए ।

– एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.