-->
रातो मच्छिन्द्रनाथको रथ आज गाबहालबाट सुन्धारातिर तानिने

काठमाडौं, वैशाख २९ – मंगलबारदेखि सुरु भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई पुल्चोकबाट तानेर गाबहालमा पुर्याइएको छ ।

अहिले गाबहालमा रातो मच्छिन्द्रनाथ र मिननाथको दर्शन गर्ने भक्तजनको घुईंचो लागेको छ । रथलाई तानेर एक दिन विश्राम गराउने ठाउँमा स्थानीयबासिन्दा भुज्या जाने भनेर परिवारका सबै सदस्यले पूजा गर्ने परम्परा छ ।

बुधबार दिउँसो ४ बजेपछि रथलाई गाबहालबाट सुन्धारातिर तानिनेछ । जात्राको क्रममा गाबहाल, सुन्धारा, लगनखेल र जावलाखेलमा अनिवार्य रुपमा विश्राम गराउनु पर्ने परम्परा छ ।

जावलाखेलमा भोटो देखाउने जात्रासँगै रातो मच्छिन्द्रनाथको जात्रा सकिनेछ । रातो मच्छिन्द्रनाथको रथयात्रा उपत्यकाको सबैभन्दा लामो रथयात्रा भएकोले केहि वर्ष अघि यस जात्रालाई गिनीज बुकमा उल्लेख गराउनको लागि प्रयास भएको थियो ।

लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको र त्यसपछि सहकाल सुरु भएको किम्वदन्ती छ ।

भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंको तान्त्रिक बन्धुदत्त बज्राचार्य र ललितपुरका ललित ज्यापू तीनजना मिलेर रातो मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याएको भन्ने जनविश्वास छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.