-->
नेपाली इतिहासको कहाली लाग्दो जेठ १९ गते, को हो त हत्यारा ?

काठमाडौं, १९ जेठ । नेपालको मात्रै होइन विश्व इतिहास हेर्ने हो भने कयौं ठूला घटनाहरु युवतीको विषयलाई लिएर भएका छन् । अझ हिन्दू शास्त्रलाई अध्ययन गर्दा पनि महिलाकै कारण युद्ध भएको भेटिन्छ । द्रोपदीका कारण महाभारत, सीताका कारण रामायणमा ठूलो युद्ध भएको पढ्न पाइन्छ । कलियुगमा भएको नारायणहिटी राजदरबार हत्याकाण्ड पनि एक युवतीको विषयलाई लिएर भएको भनिएको छ । तर, कयौंले यसलाई अझै पनि स्वीकार्न सकेका छैनन् ।

वि.स. २०५८ साल जेठ १९ गते शुक्रबार अर्थात आजैका दिन तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि नारायणहिटी राजदरबार हत्या काण्ड भयो । जसको आज १५ वर्ष पूरा भएको छ । वीरन्द्रको वंश सहित केही शाही नातेदारको मृत्यु हुने गरि भएको त्यो त्रासदीपूर्ण घटना पनि तत्कालीन युवराज दीपेन्द्र शाहले विवाह गर्ने युवतीको विषयलाई लिएर भएको भनियो । आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय रुपमा भएको सो घटनामा राजपरिवारका १० जना सदस्यको हत्या भएको थियो ।

प्रत्येक शुक्रबार हुने शाही भोज त्यस दिन पनि भइरहेका बेलामा युवराज दीपेन्द्रले राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, काका धीरेन्द्र शाह, फूपु शान्ति तथा जयन्ती, श्रद्धा, श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी हत्या गरेको उच्चस्तरीय छानबिन समितिले दावी गरेको थियो । तर, सो घटना भएको १५ वर्ष पूरा भइसक्दा पनि दीपेन्द्रलाई दोषी स्वीकार्न नागरिकले चाहेका छैनन् भने सत्यतथ्य अझै बाहिर नआएको गुनासो अथावत छ ।

सारा आफ्ना पारिवारका सदस्य र आफन्तलको हत्या पछि आफैं माथि दीपेन्द्रले गोली प्रहार गरेको बताइयो । राजपरिवारको वंशनाश हुने गरी भएको सो घटनाको बारेमा जेठ २० गते ढिलो गरी मात्रै जनतालाई जानकारी दिइयो । शोकाकुल बनेका जनताहरु सडकमा स्वतःस्फूर्त निस्किएका थिए ।आशंका र त्रासका बीच दरबार हत्याकाण्डको विषयमा चासो लिइरहेका आम नागरिकलाई घटनाको भोलिपल्ट जेठ २० गते छाउनी अस्पतालमा घाइते अवस्थामा रहेका भनिएका दीपेन्द्रलाई राजा घोषणा गरिएको जानकारी दिइयो । दीपेन्द्रलाई राजा बनाइएसँगै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायवी अधिकार सुम्पियो ।

रुवाबासी गर्दै जनता सडकमा ओर्लिए । शोक मनाउन टाउको मुण्डन गर्नेको संख्या बढ्दै गयो । मुण्डन टाउकोहरु मात्रै सडकमा देखिन थाल्यो । घटनाको अड्कलबाजी फरक फरक सुनिन थालियो । आँशु र पीडामै राजपरिवारका सदस्यहरुको सामूहिक दाहसंस्कार पनि गरियो । लोकप्रिय राजा वीरेन्द्रलाई अन्तिम विदाइ गर्न पनि जनताले सहजै पाएनन् । सुरक्षाकर्मीहरुको घेरामा राजपरिवारका सदस्यहरुको अन्तिम संस्कार गरिँदा धेरै नेपालीको मन कुँडियो । नेताहरुको निधनमा अन्तिम श्रद्धाञ्जलीका लागि एक÷दुई दिन अन्तिम संस्कार नगर्न मुलुकमा राजाको भने जनतालाई अन्तिम श्रद्धाञ्जली दिने अवसर समेत दिइएन ।

वीरेन्द्रको वंश जोगाएका घाइते अवस्थामा रहेका भनिएका दीपेन्द्रको पनि उपचारका क्रममा जेठ २२ गते मृत्यु भएको देश विदेश खबरपुग्यो । तर, यसअघि नै मृत्यु भइसकेका दीपेन्द्रलाई व्यर्थमा राजा घोषणा गरिएको कतिपयले आरोप लगाएका थिए । दीपेन्द्रको मृत्यु पश्चात ज्ञानेन्द्रलाई राजा घोषणा गरियो । उनलाई वीरेन्द्रको मृत्यु पछि नायवी अधिकार दिइएको थियो । कफर््यूको बीचमा छाउनीस्थित सैनिक अस्पतालबाट ट्रकमा दिपेन्द्रको पार्थिव शरीर राखेर पशुपतिआर्यघाटमा पुर्याई दाहसंस्कार गरियो ।

कस्ले मार्यो वीरेन्द्रको परिवार ? जनतामा जिज्ञासा आजपर्यन्त छ । कफर््यू जारी गरेर किन राजा दीपेन्द्रको दाहसंस्कार गरियो ? प्रश्न त्यत्तिखेर मात्र होइन आज पनि उठिरहेको छ । शोकाकुल नेपाली नागरिकलाई दाजुको वंशनाश पछि राजा बन्न पुगेका ज्ञानेन्द्रले घटनाको सत्यतथ्य बाहिर ल्याउने बचन दिए । उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति पनि गठन गरे । सो समितिबाट एमाले नेता माधवकुमार नेपालले भने राजीनामा दिएका थिए ।

एक सातापछि समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लागूपदार्थ र मादक पदार्थले मातेका युवराज दीपेन्द्रलाई घटनाको दोषी देखाइयो । तर, नागरिकले दीपेन्द्रलाई दोषी मान्न अझै चाहँदैनन् । घटनाको सत्यतथ्यको पर्खाइमा छन्– जनता । शंका र आशंकाका बीच राजा बनेका ज्ञानेन्द्रको शासनकाल पाँच वर्ष पनि टिक्न सकेन । उनकै शासनकालमा अन्ततः मुलुकबाट राजसंस्था इतिहासमा समिति बन्न पुग्यो । र दरबार हत्याकाण्डको सत्यतथ्य के हो जनताको अपेक्षा अनुसार गणतान्त्रिक सरकारहरुले पनि प्रष्ट्याउन सकेका छैनन् ।

राजदरबार हत्याकाण्डका बेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले सो घटनाको ‘ग्राइन्ड डिजाइन’ खोल्ने बेलाबेलामा चेतावनी दिने गरेका थिए । जस कारण पनि सो घटना रहस्यमय बन्न पुग्यो । तर, यसबारेमा केही नखोलिकन उनको देहान्त भयो । राजा ज्ञानेन्द्रको सक्रिय शासन कालमा केही राजनीतिक दलले नारायणहिटी राजदरबार हत्याकाण्डको सत्यतथ्य ल्याउने जनतालाई आश्वासन बाँडेपनि सत्तारोहणसँगै ती दलहरुले बिर्सन पुग्दा १५ वर्षको यो अवधि सम्म पनि रहस्यमयको गर्भमा रहिरह्यो – नारायणहिटी राजदरबार हत्याकाण्ड । वीरेन्द्रको वंशनाश काण्ड । मिडिया एनपीबाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.