-->
एट्लेटिको अब बराबरीको प्रतिस्पर्धी

म्याड्रिड युरोपेली फुटबलमा आश्चर्यजनक टिम थियो । उसले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता स्टारबिना पनि बार्सिलोना र रियल म्याड्रिडलाई उछिनेर स्पेनी ला लिगा जितेको थियो ।
एट्लेटिको युरोपेली च्याम्पियन्स लिगको उपाधि नजिक पनि पुगेको थियो, तर अतिरिक्त समयको खेलमा रियलको हातबाट पराजित रहेको थियो ।
त्यतिबेला एट्लेटिको सन् १९७४ यता पहिलोपल्ट युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । अतिरिक्त समयको खेलमा रियल ४–१ ले विजयी रह्यो र उसले कीर्तिमान दसौंपल्ट युरोपेली उपाधि उचालेको थियो । अब शनिबार एट्लेटिकोले फेरि च्याम्पियन्स लिगको फाइनलमा रियलको सामना गर्दैछ ।
तर यसपल्ट एट्लेटिकोको चुनौती यसअघि जस्तो आश्चर्यजनक टिमका रूपमा हुने छैन । यसपल्ट एट्लेटिकोले आफ्नो धनी छिमेकी सामु बराबरीको प्रतिस्पर्धा दिनेछ ।
‘दुई वर्ष अगाडि एट्लेटिकोले फाइनल खेल्नु आश्चर्यको विषय थियो । तर यसपल्ट होइन । जसले एट्लेटिकोलाई पछिल्लो समय पछ्याएको छ, उनीहरू कसैलाई पनि टिमको परिपक्वतामा शंका हुने छैन,’ पाउलो फुटर मान्छन् ।
उनी एट्लेटिकोका पूर्वकप्तान हुन् । अहिलेका एट्लेटिको प्रशिक्षक डिएगो सिमोनीका प्रशंसक रहेका पोर्चुगाली टिमका पूर्वसदस्य फुटर भन्छन्, ‘सिमोनीले टिमलाई कसरी बलियो र बहादुर बनाए, त्यसको बयान गर्न मसँग शब्द नै छैन ।’
उनले पाँच वर्ष अगाडि एट्लेटिको टिम सम्हाल्ने अवसर पाएका थिए र त्यसयता क्लबले बलियो पुनरागमन गरिरहेको छ ।
सन् २०१४ मा च्याम्पियन्स लिग फाइनलमा हार बेहोरेयता एट्लेटिकोले आफ्ना तीन प्रमुख खेलाडीलाई पनि गुमाएको थियो, गोलरक्षक थिबो कोरटा, डिफेन्डर फिलिपे लुइस र फरवार्ड डिएगो कोस्टा ।
अर्का प्रमुख खेलाडी आरडा टुरानले पनि गत सिजन बार्सिलोना रोजे । चेल्सीमा एक सिजन बिताएपछि लुइस एट्लेटिको फर्किसकेका छन् । तर ती खेलाडीको स्थानमा डिएगोले चतुर्याइँपूर्वक नयाँलाई अवसर दिए ।
यी सबै खेलाडी सिमोनीको विशेषता रहेको काउन्टर आक्रमणका लागि उत्कृष्ट मानिन्छन् । सिमोनीको नेतृत्वमा एट्लेटिकोले यसपल्ट उत्कृष्ट डिफेन्सको नमुना पेस गरेको छ । लिगका ३८ खेलमा एट्लेटिकोले १८ गोल मात्र खाएको छ ।
आक्रमणमा पछिल्लो समय फ्रान्सेली खेलाडी एन्टोइने ग्रिजमन खुबै सफल रहेका छन् र उनलाई आफ्नो मातृ क्लबमा फर्केका फर्नान्डो टोरेसले बलियो साथ दिइरहेका छन् ।
यसपल्ट मिलानमा हुने फाइनलमा यी दुई खेलाडीको आक्रमण सफल हुने विश्वास छ, किनभने दुई वर्ष अगाडि चोटग्रस्त कोस्टामाथि दाउ खेल्ने सिमोनीको रणनीति असफल रहेको थियो ।
कोस्टा नौ मिनेट मात्र टिके र सिमोनी उनको स्थानमा अर्को खेलाडी उतार्न बाध्य भएका थिए । यसले अन्तत: तीन वैकल्पिक खेलाडीको नियममा सिमोनीले धोका खाए ।
अनि अतिरिक्त समयमा तीन गोल खानु पछाडिको कारण थाकेका एट्लेटिकोका खेलाडी बढी जिम्मेवार थिए ।
‘यसअघि लिस्बनमा भएको फाइनलमा एट्लेटिकोलाई चोटको ठूलो समस्या थियो । त्यतिबेला क्लब लिग उपाधिको संघर्षमा थाकेको पनि थियो । तर यसपल्टको फाइनल अगाडि टिम राम्रो स्थितिमा रहेको छ,’ एट्लेटिकोका अर्का पूर्वखेलाडी एडेलार्डो रोडरिगे मान्छन् ।
मिलानमा हुने फाइनलसम्मको यात्रा तय गर्न एट्लेटिकोले दुई बलिया पूर्वविजेतालाई हराएको छ, बार्सिलोना र बायर्न म्युनिख ।
दुई वर्ष अगाडि रियलविरुद्ध च्याम्पियन्स लिग फाइनल गुमाएयता आफ्नो छिमेकीमाथि एट्लेटिकोको प्रदर्शन पनि राम्रो रहेको छ । यी दुई टिमबीचका पछिल्ला दस खेलमा एट्लेटिकोले पाँचमा जित हात पारेको छ भने चार खेलमा बराबरी खेलेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.