-->
विमानस्थल अध्यागमन डेस्क रित्तै

काठमाडौं-शनिबार, विहान १० बजेर ३० मिनेट गएको थियो । नियमित समयभन्दा केही ढिलो चीनको ल्हासाबाट सिचुआन एयरको उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । ल्हासा घुमेर नेपाल आउने ६२ यात्रुमा अधिकांश विदेशी पर्यटक थिए । 

उक्त जहाजबाट उत्रिएका विदेशी विमानस्थल अध्यागमनमा केही समय रनभुल्लमा परे । कारण थियो– अध्यागमन आगमन डेस्क लगभग खाली थियो ।

'कोही थिएन, सबै खाली थियो, हामीले सोधखोज गरेपछि विस्तारै केही कर्मचारी आए, सोध्दा खाजा खान गएको भने,' सिचुआन एयरबाटै विमानस्थल उत्रिएका पत्रकार किशोर श्रेष्ठले भने । उनका अनुसार एकजना सरकारी अधिकारी कूटनीतिक पार्सपोर्टधारी पनि सोही विमानबाट उत्रिएका थिए ।

विमानस्थल अध्यागमनका निमित्तप्रमुख उद्धवबहादुर थापाले डेस्कमा कर्मचारी नभएको भन्ने कुरा अस्विकार गरे । उनले केही कर्मचारीको कमी रहे पनि अधिकांश डेस्क खाली भएको भन्ने कुरा गलत भएको बताए । 'म आफैं सवा ११ बजेसम्म विमानस्थलमै थिए, केही कर्मचारी अपुग भएको होला, नभएका होइनन्,' थापाले भने । उनले केही कर्मचारी सुत्केरी र बिरामी बिदा बसेका कारण डेस्कमा कर्मचारी अपुग भएको बताए ।

अध्यागमन विभागले विमानस्थलको आगमन र प्रस्थान कक्षमा करिब ६० जना कर्मचारीका लागि डेस्क रहे पनि हाल १४ जनामात्र कार्यरत रहेका कारण पछिल्लो केही महिनादेखि अवस्था यस्तै रहेको जनाएको छ । विभागका अनुसार कर्मचारी युनियनको आसन्न निर्वाचनका कारण सरुवा र काज रोकिएकाले विमानस्थल जस्तो संवेदनशील कार्यालयमा कर्मचारी अपुग भएका हुन् ।

विभागका महानिर्देशक केदार न्यौपानेले कर्मचारी अपुग भएकाले पठाइदिन सम्बन्धित निकायमा बारम्बार आग्रह गर्दासमेत काम नभएको बताए । उनले लोकसेवा आयोगबाट पास भएका नयाँ अधिकृत खटाइदिन सामान्य प्रशासन मन्त्रालयमा भनिरहेको बताए । उनका अनुसार विमानस्थल अध्यागमनमा एक सय २९ जनाको दरबन्दी भएकोमा हाल ५९ जना कर्मचारी मात्र उपलब्ध छन् । 'विविध कारणले कर्मचारी अपुग भएको सत्य हो तर डेस्क नै खाली भएको भन्ने विषयमा विभागले अनुसन्धान गर्ने छ,' न्यौपानेले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमनमा लगातार छापा मारेका कारण गृह मन्त्रालयअन्र्तगतका अधिकांश कर्मचारी विमानस्थल अध्यागमनमा जान मानिरहेका छैन्न । काजमा गएका कर्मचारीको समेत काज फिर्ता भएको र नयाँ नगएका कारण विमानस्थल अध्यागमन डेस्कमा कर्मचारीले यात्रु होइन यात्रुले कर्मचारी खोज्ने अवस्था आएको हो ।

'सिचुवान महँगो विमान कम्पनी भएका कारण त्यसमा गुणस्तरीय पर्यटक चढ्छन्, शनिबार पनि त्यस्तै पर्यटकको संख्या उल्लेख्य थियो, देशको अवस्था यस्तो छ,' नाम उल्लेख नगर्ने सर्तमा कूटनीतिक राहदानी बोकेर यात्रा गरिरहेका एक सरकारी अधिकारीले भने । उनले कूटनीतिक डेस्कमै देखिएको वेवास्ताले आफू लज्जित हुनुपरेको पनि बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.