-->
विश्वमा निरस्त्रीकरणका लागि सहयोग गर्छु: किम

प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उनले आफूले निरस्त्रीकरणका लागि प्रयत्न गर्ने धारणा सार्वजनिक गरेका छन्।
 
गत जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलोपटक यस्तो धारणा सार्वजनिक गरेका हुन्।
 
उनले भने, ‘एक आणविक राष्ट्रका हैसियतमा उत्तर कोरियाले जिम्मेवार रूपले संसारमा निरस्त्रीकरणका लागि प्रयत्न गर्ने छ।' उनले उत्तर कोरियाले आणविक अप्रसार सन्धि पाल गर्ने पनि जानकारी दिएका छन्।
 
कोरियाको सत्तारुढ दल वर्कर्स पार्टी अफ कोरियाको सातौं कंग्रेसको सम्बोधनका क्रममा उनले यो धारणा राखेका हुन्। आणविक परीक्षणका कारण निकै विवादमा तानिएको कोरियाको उक्त कदमको संसारमा विरोध भइरहेको छ। 
 
उनले आफ्नो देशले यस्तो क्षेप्यास्त्र परीक्षणको काम अरू कसैको खतराका लागि नगरेको उनले दाबी गरेका छन्। आफ्नो देशका विरुद्धमा हुनसक्ने सार्वभौमसत्ताको हमलाका विरुद्धमा आफूले तयारी यस्तो गरिएको स्पष्ट पारे। 
 
किमले उत्तर कोरियाले आणविक विकास र आर्थिक विकासको काम एकैपटक गरिरहेको जानकारी सम्बोधनका क्रममा दिए।उनले देशको आर्थिक विकास अघि बढाउन आफ्नो पार्टीले कडा परि श्रम गरिरहेको जानकारी सम्बोधनमार्फत दिएका छन्।
 
पुन:एकीकरणमा जोड
सम्बोधनका क्रममा उनले राष्ट्रिय पुन:एकीकरण आफ्नो पार्टीको पहिलो मुद्दा भएको धारणा राखेका छन्। उनले राष्ट्रिय रूपमा पुन:एकिकरणका लागि बहस चलाउने र त्यसका लागि आवश्यकता बोध गराउने काम आफ्नो पार्टीले गर्ने स्पष्ट पारेका छन्। 
 
यसका लागि दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने उनले व्यक्त गरेका छन्।राष्ट्रिय रूपमा एकीकरणका लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रूपमै बलियोसँग अघि बढाइने पनि उनले प्रतिबद्धता व्यक्त गरे। 
 
उनले भने, ‘दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रूपमा सम्बन्ध सुधारका लागि सम्मानका हात फैलाउन पनि सक्नुपर्छ।'उनले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रूपमा लिइएको छ।
 
यसका साथै उनले दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न आग्रह गरेका छन्। कानुनी र विभिन्न खालका बाधा अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेरा बिर्सनुपर्ने उनको भनाइ छ। व्यवहारिक रूपमा सम्बन्ध सुधारको मार्गमा लाग्न उनले दक्षिण कोरियालाई पनि आग्रह गरेका छन्।
 
उनले सम्बन्ध सुधारका लागि वार्ता र सहमतिका माध्यमबाट अघि बढ्न सकिए यसले आगामी दिनमा सबैका लागि सहज हुने पनि बताए। दुवै देशका सबै तहमा वार्ता र सहमतिको वातावरणले नै दुवैतर्फको समृद्धिमा सहयोग पुग्ने भन्दै नेता किमले सार्थक वार्ताका माध्यमबाट नै सबै पक्ष सहमतिमा पुग्न सकिने अपेक्षा गरेको बताएका छन्। -रासस/सिन्ह्वा/एएफपी



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.