डी भिलियर्स र कोहलीले बनाए रेकर्डै रेकर्ड
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार अपरान्ह भएको ४४ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरका लागि एबी डी भिलियर्स र बिराट कोहलीले रेकर्डै रेकर्ड बनाएका छन् ।
गुजरात लायन्सविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरका लागि यी दुई खेलाडीले दोस्रो विकेटमा रनको वर्षात नै गरेका हुन् ।
यो सिजन फ्लप क्रिस गेल ६ रनमा आउट भएपछि कोहलीलाई साथ दिन आएका भिलियर्सले छक्का र चौकाको वर्षात गर्दै ५२ बलमा १२९ रन बनाउन सफल भए । उनीसँगै ओपनर बिराट कोहलीले ५५ बलमा १०९ र बनाउँदै आउट भए ।
एबी डी भिलियर्सले ५२ बलमा १० चौका र १२ छक्का हाने । बिराटले ५५ बलमा ५ चौका र ८ छक्का हाने ।टी-२० को एकै पारीमा कुनै पनि टीमका दुई ब्याट्सम्यानले सतक लगाएको यो पहिलो पटक हो ।
यी दुई खेलाडीले रनको वर्षात गरेपछि बैंगलोरले पुरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा गुजरातलाई जितका लागि २४९ रनको विशाल लक्ष्य दिएको छ।
भिलियर्स र कोहली दुबैले सतक ठोकेको खेलमा आधा दर्जन नयाँ रेकर्ड बनेका छन् ।टी-२० विश्वकपदेखि उत्कृष्ट लयमा रहेका बिराटले यही सिजनमा तेस्रो सतक हानिसकेका छन् । जुन आफैंमा एउटा रेकर्ड हो ।
आईपीएलको इतिहासमा यो दोस्रो ठूलो स्कोर हो । यसअघि बैंगलोरले नै २०१३ मा पुणे वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।
गुजरात लायन्सविरुद्धको खेलमा बैंगलोरले एकै पारीमा दुई सतकको अर्को रेकर्ड पनि बनाउन सफल भएको छ ।
यी दुई खेलाडीबीच आईपीएलमा यो चौथो सतकीय साझेदारी हो, जुन आफैंमा रेकर्ड पनि हो । डी भिलियर्सको यो आईपीएलमा पहिलो सतक हो जब कि कोहलीले यसै सिजनमा तीन सतक ठोकिसकेका छन् ।
एम चिन्नास्वामी स्टेडियममा खेलिएको यो म्याच बैंगलोरको लागि एकदमै महत्वपूर्ण छ । बैंगलोरलाई प्लेअफमा स्थान बनाउनका लागि योसहित चार खेल जित्नु आवश्यक छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...