जेष्ठ १९, २०७३- काठमाडौं उपत्यकामा बढ्दो गर्मीसँगै खानेपानीको माग जे जसरी बढेको छ, व्यवसायीहरू भने त्यसको फाइदा उठाउँदै उपभोक्तालाई पिउन योग्य नै नभएको गुणस्तरहीन पानी बिक्री गर्न उद्यत छन् ।
ट्यांकर व्यवसायीले मुहानको शुद्ध पानी भन्दै फोहोर ठाउँबाट संकलन गरिएको पानी उपभोक्ताको घरघर पुर्याउने जुन काम गरेका छन्, त्यो अक्षम्य छ ।
व्यवसायीहरूको यस किसिमको हर्कतले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असरसमेत देखिन थालेको छ जुन चिन्ताको विषय हो ।
एकातिर उपभोक्ताहरू महँगो रकम हालेर ट्यांकरको पानी किन्न बाध्य छन् भने अर्काेतिर किनेको पानीसमेत गुणस्तरहीन हुँदा विभिन्न रोग लाग्ने गरेको छ ।
विशेष गरी छालासम्बन्धी समस्याबाट उपभोक्ताहरू बढी ग्रसित छन् । त्यसो त लामो समयसम्म गुणस्तरहीन पानी पिउँदा उपभोक्ताहरू अन्य किसिमको गम्भीर रोगबाट समेत ग्रसित हुने सम्भावना पनि उत्तिकै छ ।
ट्यांकरहरूमार्फत व्यवसायीहरूले उपभोक्तालाई बिक्री गर्ने पानी गुणस्तरहीन हुनु एउटा पाटो हो । तर, यसरी बिक्रीवितरण गर्ने व्यवसायीहरू बिनादर्ता नै यस किसिमको व्यवसाय सञ्चालन गरिरहेका छन् ।
बिनादर्ता नै व्यवसाय गर्ने यो प्रवृत्तिले पानीमा कालोबजारी गर्नेको चलखेललाई समेत बढाइदिएको छ । व्यवसायीले भूकम्पअघि प्रतिट्यांकर ८ देखि ९ सयसम्ममा बिक्री गर्ने पानीका लागि अहिले उपभोक्ताले २५ सयदेखि ३ हजार रुपैयाँ तिर्नुपर्छ ।
स्रोतमा ४ सय रुपैयाँ परेको एक ट्यांकर पानीलाई उपभोक्ताकहाँ २५ सयदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री गर्नुले पनि यो व्यवसायमा कालोबजारी गर्नेहरू सक्रिय भएको देखिन्छ ।
त्यसो त पानीको कुनै निश्चित मूल्य छैन, बरु व्यवसायीको बोलीअनुसार नै पानीको मूल्य निर्धारण हुने गर्छ । र, व्यवसायीको यही मनोमानीका कारण उपभोक्ता भने मर्कामा परेका छन् ।
ट्यांकर व्यवसाय दर्ताको स्पष्ट कानुनी प्रावधान नभएकाले पनि केही हदसम्म समस्या सिर्जना गरेको छ । यसरी व्यवसायीहरू कारोबार दर्ता प्रक्रियामा सामेल नहुँदा उनीहरूले गरेको बदमासीमा कारबाही गर्न पनि गाह्रो भएको छ ।
तर, व्यवसायीहरूले भने यही कानुनी रिक्तताको फाइदा उठाउँदै कालोबजारी त गरेका छन् नै उपभोक्ताको जनस्वास्थ्यमाथि समेत गम्भीर खेलवाड गरिरहेका छन् ।
नुहाउने, लुगा धुने, भाँडा माझ्ने गरेको पानी सिधै ट्यांकरमा ल्याएर बिक्री गर्नु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड त हो नै, उद्योग दर्ता नगरी प्राकृतिक स्रोतमाथि दोहन गर्नु र महँगो रकममा बिक्री गर्नु कालोबजारी हो ।
यसरी जनस्वास्थ्यमाथि खेलवाड हुँदा र कालोबजारी फस्टाउँदा समेत सरकारी संयन्त्रहरू मूकदर्शक हुनु दुभाग्र्यपूर्ण हो ।
पानीको व्यापार त्यस्तो क्षेत्र हो जहाँ थोरै लगानी गर्दा पनि धेरै मुनाफा कमाउन सकिन्छ । त्यसैले पनि व्यवसायीहरू यसतर्फ आकर्षित भएका हुन् ।
फोहोर ठाउँबाट संकलन गरिएको पानीको व्यापार त फस्टाएको छ नै, कतिपयले बोरिङ गरी पानी बिक्रीवितरण समेत गर्ने गरेका छन् । बोरिङ गरी पानी निकाल्न काठमाडौं उपत्यका खानेपानी बोर्डबाट लाइसेन्स लिनुपर्ने कानुनी प्रावधान छ ।
तर, कतिपय व्यक्ति यस्तो लाइसेन्सबिना नै पानी व्यापारमा सक्रिय छन् । तर, त्यस्ता व्यापारीलाई कुनै कारबाही नहुनु विडम्बनापूर्ण हो । यसले सरकारी कर्मचारी र पानी व्यवसायीबीच मिलेमतो भएको कुरालाई संकेत गर्छ ।
दिनदहाडै प्राकृतिक स्रोतमाथि व्यवसायीले गरिरहेको दोहनमा सरकार मौन बस्नै मिल्दैन । शुद्ध पिउने पानीको प्रबन्ध गर्न र पानी व्यापारमा भइरहेको अहिलेको कालोबजारी नियन्त्रणका लागि सरकारले अग्रसरता लिनैपर्छ ।
यस हिसाबले तत्कालै पानीसम्बन्धी छुट्टै ऐन वा नीति बनाउन आवश्यक छ । साथै दर्ताबिना बोरिङ गरी पानी निकाल्ने व्यवसायीहरूलाई कारबाही गर्न त आवश्यक छ नै यसरी निकालिएको पानीको परीक्षण गरी त्यसैअनुसार बिक्रीवितरण गर्ने व्यवस्था तय गर्न पनि उत्तिकै आवश्यक छ ।
त्यस्तै वाणिज्य विभाग, खाद्य तथा गुणस्तर नियन्त्रण विभागले अनुगमन कार्यलाई प्रभावकारी बनाई गल्ती गर्नेलाई कारबाही गर्न जरुरी छ । सरकारले ट्यांकर व्यवसायीलाई व्यवस्थित बनाउनुका साथै गुणस्तरहीन पानी बिक्री गर्ने व्यवसायीहरूलाई कडाभन्दा कडा कारबाही गरे मात्र उपभोक्ता स्वास्थ्यमाथि भइरहेको खेलवाडलाई केही हदसम्म भए पनि कम गर्न सकिन्थ्यो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...