-->
यार्सागुम्बा संकलनमा जाने विद्यार्थीलाई घुम्ती विद्यालय

यार्सागुम्बा सिजनको सुरुवात भएसँगै आयआर्जनका लागि हिमाली पाटन जाने विद्यार्थीलाई लक्षित गरेर यस वर्ष पनि घुम्ती विद्यालय सञ्चालन गरिने भएको छ । यार्सागुम्बा सङ्कलनको समयमा शिक्षक, विद्यार्थी, अभिभावक, पशु चौपायासहित सर्वसाधारण गाउँ छाडेर जाने भएकाले विद्यार्थीलाई पढ्ने वातावरण सिर्जना घुम्ती विद्यालय सञ्चालन गर्न लागिएको हो ।
यार्सागुम्बा सङ्कलन अवधिभर सबै विद्यार्थी तथा शिक्षक पनि पाटनतिरै हुने भएकाले यसलाई मध्यनजर राख्दै कक्षा १ देखि ५ सम्मका किताबसम्बन्धी आधारभूत विषय तथा वातावरण संरक्षणसम्बन्धी सिकाइने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको हो । यसमा स्थानीय विषयअन्तर्गत यार्सागुम्बा कसरी सङ्कलन गर्ने भन्ने विषयमा पनि जानकारी गराइनेछ ।
डोल्पामा सबैभन्दा धेरै सर्वसाधारण जाने यार्सा पाटन माझफाल गाविसको मेली सामुदायिक वनअन्तर्गत ओपा, बागडाँडा, तरपरे, रह गाविसको माटे, पार्वा रुमान, दुनै गाविसको ठाँगे तथा काइगाउँ गाविसको डोप्का जगदुल्लालगायतका स्थानमा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यार्सागुम्बा सङ्कलन अवधिभर घुम्ती विद्यालयमा ७०० भन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने अवेक्षा गरिएको छ । एक महिनाका लागि सञ्चालन गरिने घुम्ती विद्यालयमा डोल्पा जिल्लाका मात्र नभई छिमेकी जिल्ला जाजरकोट, रुकुम, सल्यान, जुम्लालगायतका जिल्लाबाट आएका विद्यार्थीसमेत पढ्न जाने गरेको बताइएको छ । शिक्षकलाई एक महिना पढाएबापत १६ हजार पारिश्रमिकको व्यवस्था गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.